तत्कालिन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा

तु खबर संवाददाता
२०८३ बैशाख ३, बिहीबार १९:२१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै तिवारीले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो ।

आयोगका अनुसार तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ बिगो कायम गरिएको छ । सोही बिगो बराबरको जरिवाना, स्रोत नखुलेको सम्पत्तिबाट बढे/बढाइएको सम्पत्ति जफत तथा कैद सजायको मागदाबी गरिएको छ ।

अनुसन्धानका क्रममा तिवारीले आफ्नो पद र प्रभाव प्रयोग गर्दै आयभन्दा बढी सम्पत्ति संकलन गरेको देखिएको आयोगको दाबी छ । गैरकानुनी सम्पत्तिलाई वैध देखाउन विभिन्न उपाय अपनाइएको आशंका समेत गरिएको छ ।