राजनीतिक नियुक्तिधारीलाई लामिछानेको चेतावनी, स्वेच्छिक राजीनामा दिनुहोस्

तु खबर संवाददाता
२०८२ चैत्र १९, बिहीबार १५:१६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगतका सरकारहरूबाट विभिन्न निकायमा राजनीतिक भागबण्डाका आधारमा नियुक्त भएका पदाधिकारीलाई स्वेच्छिक राजीनामा दिन आग्रह गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले संविधान र कानुनको आवरणमा नेता तथा दलको सिफारिसमा नियुक्ति लिएकाहरूले पदबाट मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्। उनले विधिको पालना र सुशासन कायम गर्न स्वेच्छिक रूपमा राजीनामा दिन अपिल गरे।

लामिछानेले वर्तमान सरकारले नयाँ मापदण्ड, कानुन र पारदर्शिताका आधारमा नियुक्ति प्रक्रिया अघि बढाउने स्पष्ट पार्दै पुराना राजनीतिक नियुक्तिधारीहरूले त्यसका लागि बाटो खुला गरिदिनुपर्ने धारणा राखे।

उनको यस अभिव्यक्तिपछि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेप्से, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लगायत विभिन्न निकायमा रहेका राजनीतिक नियुक्तिधारीहरूले धमाधम राजीनामा दिन सक्ने आकलन गरिएको छ।