नयाँ सरकारको पहिलो कारोबार दिन नेप्सेमा भारी गिरावट

तु खबर संवाददाता
२०८२ चैत्र १५, आईतवार १५:४५

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उल्लेखनीय गिरावट देखिएको छ। बालेन शाह नेतृत्वको नयाँ सरकारले कार्यभार सम्हालेको पहिलो दिन बजार उकालो लाग्ने अपेक्षा गरिए पनि त्यसको विपरीत नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा झरेको छ।आज ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा कुल १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजारमा गिरावट आए पनि कारोबार रकम भने उच्च रहेको देखिन्छ।

विश्लेषकहरूका अनुसार बजार घट्नुको मुख्य कारण लगानीकर्ताहरूको नाफा बुकिङ हो। सरकार गठनअघि बजारमा उल्लेख्य वृद्धि भएकाले लगानीकर्ताहरूले आफ्नो लाभ सुरक्षित गर्न शेयर बिक्री गर्दा बजारमा करेक्सन आएको हो। दीर्घकालीन रूपमा यस्तो करेक्सनलाई बजार स्थिरताका लागि सकारात्मक मानिन्छ।यता, नयाँ सरकारद्वारा सुरु गरिएको धरपकडका कारण प्रमुख राजनीतिक दल एमालेले देशव्यापी आन्दोलन सुरु गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता दीपक खड्का र रमेश लेखक पक्राउ परेपछि देशभर अस्थिरता बढेको छ, जसले लगानी वातावरणमा नकारात्मक असर पारेको विश्लेषण गरिएको छ।

यसैगरी, चैत मसान्तमा तिर्नुपर्ने ब्याजको दबाब तथा सेयर बजारमा अवैध लगानी नियन्त्रण गर्न सरकारले ल्याएको कडाइले पनि बजार मनोविज्ञानमा असर गरेको देखिन्छ। बैंक खाताबाट हुने कारोबारसमेत निगरानी गर्ने नीतिले केही लगानीकर्तामा त्रास सिर्जना गरेको अनुमान गरिएको छ।आज सबै १३ वटै उपसूचक घटेका छन्। फाइनान्स समूह ३.३८ प्रतिशत, विकास बैंक २.८९ प्रतिशत, वाणिज्य बैंक २.७८ प्रतिशत, इन्भेष्टमेन्ट २.९८ प्रतिशत, होटल तथा पर्यटन २.२५ प्रतिशत र हाइड्रोपावर समूह २.२१ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा रिडी पावर (७१ करोड ११ लाख रुपैयाँ), ङादी ग्रुप पावर (५२ करोड २८ लाख रुपैयाँ), सोलु हाइड्रोपावर (४८ करोड ६९ लाख रुपैयाँ), शिवम सिमेन्ट (४७ करोड ८९ लाख रुपैयाँ) र नेशनल हाइड्रोपावर (४६ करोड ८ लाख रुपैयाँ) अग्रस्थानमा रहे।त्यसैगरी, एसवाई प्यानल, अपी पावर, राधी जलविद्युत, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीमा पनि उच्च कारोबार भएको छ।

बजार समग्रमा ओरालो लागे पनि ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन, सूर्यकुण्ड हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्टका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्।दीर्घकालीन रूपमा भने स्थायी सरकार, स्पष्ट नीति र लगानीकर्ताको निरन्तर उत्साहका कारण पुँजी बजारप्रति सकारात्मक आशा कायम रहेको विश्लेषकहरूको भनाइ छ।