नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१८ मा, कार्यतालिका संशोधन

तु खबर संवाददाता
२०८२ चैत्र ११, बुधबार १९:१९
file-photo

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यसअघि प्रस्तावित कार्यतालिकालाई संशोधन गर्दै नयाँ मिति तय गरेको हो।

मंगलबारको बैठकमा सभापति गगन थापाले भदौ २४–२६ गतेका लागि महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए। तर केन्द्रीय समितिले उक्त प्रस्ताव संशोधन गर्दै असोज १६–१८ गतेका लागि महाधिवेशन गर्ने निर्णय पारित गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए।

नयाँ कार्यतालिका अनुसार वडा अधिवेशन भदौ २ गते, गाउँ–नगर अधिवेशन भदौ ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन भदौ १७ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भदौ २४ गते हुने तय गरिएको छ।

त्यसैगरी, जिल्ला अधिवेशन असोज २ र ३ गते तथा प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने निर्णय भएको छ। यसअघि साउन महिनामा राखिएको तल्लो तहको अधिवेशन मौसमी प्रतिकूलताका कारण भदौमा सारिएको हो।

बैठकले १५औँ महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। साथै, निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गरिएको छ।

यसअघि प्रस्तुत कार्यतालिकामा साउन ६ गतेदेखि वडा अधिवेशन सुरु गर्ने प्रस्ताव थियो। तर संशोधित कार्यतालिका अनुसार सबै कार्यक्रमहरू पछि सार्दै नयाँ मितिहरू तय गरिएको हो।