जेनजी आन्दोलनका क्रममा भेटिएको पैसाबारे छानबिन हुनुपर्छ : गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा भेटिएको पैसाबारे कानुनसम्मत अनुसन्धान हुनुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै थापाले भदौ २४ गते नेताका घरमा भेटिएको पैसाको निष्पक्ष छानबिन गरी स्पष्ट निष्कर्षमा पुग्नुपर्ने बताए। उनले यस्तो विषयलाई सार्वजनिक खपतका लागि मात्र प्रयोग नगरी गम्भीर रूपमा अनुसन्धान गर्नुपर्नेमा जोड दिए।
जेनजी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आगजनी भएको थियो। उक्त घटनामा देउवा र कांग्रेसकी तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि आक्रमण समेत भएको थियो। आगजनीका क्रममा त्यहाँ पैसा जलेको भिडियो सार्वजनिक भएको थियो। त्यस्तै, कांग्रेस नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा पनि आगजनी हुँदा पैसा जलेको भिडियो बाहिर आएको थियो।
सभापति थापाले अख्तियार दुरुपयोग तथा नीतिगत भ्रष्टाचारका विषयमा पनि तथ्यमा आधारित छानबिन हुनुपर्ने बताए। उनले २०४६ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध देखिएमा जफत गर्नुपर्ने प्रस्ताव अघि सारे।
उनले भने, “२०४६ सालदेखि यता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन हुनुपर्छ। अवैध प्रमाणित भए जफत गर्नुपर्छ। हामीले निर्वाचनका बेला पनि यो विषय उठाएका थियौँ, रास्वपाले पनि उठाएको थियो, त्यसैले अब बन्ने सरकारसँग यस विषयमा प्रस्ताव गर्नेछौँ।”
नयाँ सरकारसँग सुशासनका क्षेत्रमा ठूलो अपेक्षा रहेको उल्लेख गर्दै थापाले भ्रष्टाचारका फाइलहरू राजनीतिक उद्देश्यका लागि मात्र खोलिन नहुने बताए। उनले विगत ३५ वर्षमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरूलाई कानुनी प्रक्रियामार्फत टुंग्याउनुपर्नेमा जोड दिए।
थापाले कांग्रेसले आगामी पाँच वर्ष प्रतिपक्षको हैसियतमा जिम्मेवार भूमिका निर्वाह गर्ने र भ्रष्टाचार छानबिन तथा सुशासन प्रवर्द्धनमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
