आजभोलि ‘ज्यामिरे’लाई कस्तो छ ?
“मान्छे जन्मन्छ र मर्छ तर मान्छेले गरेका असर कीर्तिहरू जो कहिल्यै नासिएर जाँदैन । मान्छेको हरेक क्रियाकलाप, व्यवहार तथा ब्रह्माण्डमा भएका जे जति वस्तुहरू छन्, ती सम्पूर्णमा कुनै न कुनै रूपले साहित्य लुकेको हुन्छ । साहित्यको विकास गर्न शहर पस्नुपर्छ भन्ने मान्यता हाम्रो होइन । हामीले साहित्य ग्रामीण क्षेत्रमा बढी पाएका छौँ । त्यसर्थ मोफसलको पनि मोफसल भन्दा फरक नपर्ने क्षेत्रबाट ज्यामिरे त्रैमासिकको जन्म हामीले दिएका छौँ । पत्रिकको जन्म दिइसकेपछि हुर्काउन सक्नु नै सबभनदा ठूलो उपलब्धि हो । यो यात्रा अविरलरूपमा अगाडि बढिरहने छ – गृष्मको हावामा होस् या त वर्षात्को भेल अनि हेम्न र शिशिरको कठिन तुषारोमा पनि । साहित्यिक विकासमा लेखकहरूको जति हात रहन्छ, त्यो भन्दा बेसी पाठकहरूको हात रहन्छ । अस्तु ।”
अहिले मेरो अगाडि छ ‘ज्यामिरे’ वर्ष १, अङ्क १, वैशाख–असार २०५८ र सम्पादकीय शीर्षकमा लेखिएको माथिको कुरो । उपर्युक्त सम्पादकीयमा देखिएको उत्साह र दृढताले साहित्यप्रतिको मात्र नभई प्रकाशनप्रतिको प्रतिबद्धतालाई समेत जाहेर गरेको छ ।
सम्मापदक होमराज पुलामी तथा सल्लाहकार रामकुमार एलन, भानुभक्त आचार्य, श्यामकुमार बानियाँ, केदार आचार्य रहेको यस पत्रिकामा विशेष सहयोगी पद्मराज बर्तौला, बलराम थापा, हरिचन्द्र रिजाल, काशिराम केसी, नवराज पराजुली, नरबहादुर पुलामी, हरियाली युवा समूह रहेको उल्लेख गरिएको छ । यसै गरी पत्रिकामा प्रकाशन सहयोगी भनी कालिका वन उपभोक्ता समूह लेखिएको छ ।
पत्रिकाको पहिलो पृष्ठमा दुई रचना छन् – रामकुमार एलनको गजल र केदार आचार्यको कविता । एलनको गजलमा कैलालीका अक्षि सम्पादक सम भारद्वाजलाई सम्झेका छन् । आचार्यको कविता ‘नेपालीको सुख चयन पोइल गएछ’ मा नेपाली जनताको इच्छा र चाहना पूरा हुन नसकेको कुरा दर्शाइएको छ ।
दोस्रो पृष्ठमा केही विज्ञापन र रचनाहरु रहेका छन् । पहिलो रचना गोविन्द पौडेल एसिडको गजल रहेको छ । एसिडको गजल विप्रलम्भ शृङ्गारिक धारामा छ । विछोडको पीडाको अभिव्यक्ति छ । रसु एलन घिमिरे र शिवकुमार काशीका एक एक मुक्तक छन् । घिमिरेको मुक्तक प्रेम विषयक छ भने तत्कालीन परिवेशको चित्रण गर्दै पजेरो संस्कृतिको विरोध गरिएको विषय छ काशीको मुक्तकमा । पद्मराज लामिछाने गगनको कविता ‘मान्छे : सन्देह हुँदोरहेछ’ मा सन्देह हुने विभिन्न अवस्थाको चित्रण गरिएको छ । एक कविको कवितामा सङ्र्षमा होमिएको मानिसले आमालाई सम्झाउने प्रयास गरिएको छ । ऋषि केबी तीन टुक्रा रचनाका साथ उपस्थित भएका छन्, ‘मानवता, समानता र एकता’ गरी ‘शब्दः शब्दावली’ शीर्षकमा । केबीले यी शब्दको भाव विलुप्त हुन लागेकोप्रति व्यङ्ग्य गरेका छन् । कृष्णप्रसाद ढुङ्गानाले सम्भवतः मुक्तकमा व्यङ्ग्य गरेका छन् ‘काठमान्डौ’ शीर्षकमा :
‘घृणित विचार र दुव्र्यवहारले भरिएको शहर
जहाँ छैन कसैको नैतिकताको कदर
भरिएको छ सधैँ त्रासैत्रासले
भनिदिनोस् त दाजु यो कस्तो शहर ।’

योगिन्द्रनाथ चालिसेको ‘तिमी नेपाली हौ भने’ शीर्षकको कवितामा नेपालीका मुख्य वीरता र शान्तिका पहिचानलाई सम्झना गराउँदै सीप र पाखुरीमा जाँगर बोकेर देश निर्माणमा जुट्न आह्वान गरेका छन् । राजन अधिकारीको ‘हाय कस्तो विडम्बना’ शीर्षक कवितामा बालबालिका तथा नवयुवामा बढ्दै गएको आधुनिक तथा दुव्र्यसनयुक्त विकृतिलाई केलाएका छन् । यसै गरी सीताराम अधिकारीले ‘विरक्ति आमा’ शीर्षक कवितामा आमाले आफ्नो लागि गरेको दुःख सम्झँदै आमालाई सान्त्वना दिएका छन् । रमिला पुलामी मगरले ‘निराश’ शीर्षक कवितामा स्वार्थी संसारमा निराश भएको अभिव्यक्त दिएका छन् । विनोद बानियाँको ‘नैतिकता’मा नैतिकताविहीन काम अर्थहीन वा मूल्यहीन बताइएको छ । उपदेशात्मक शैलीमा सरलतापूर्वक सुदीप भारती चार पङ्क्ति यसरी लेख्दछन् ‘हुँदैन’ शीर्षकमा :
‘गुलेली धनुबाण लिनु हुँदैन
वनमा बस्ने चरीलाई मानु हुँदैन
रुखको पनि मन हुन्छ भाँच्नु हुँदैन
अरुलाई रुवाएर हास्नु हुँदैन’ ।
अन्तिम पृष्ठको पहिलो रचना हो सगिरा परविनको ‘कविता’ । यसमा उपदेशात्मक शैलीमा कर्तव्य र अधिकारलाई सँगसँगै लैजाँदा असङ्ख्य चाहनाहरू पूरा हुने बताइएको छ । सुजता पुडासैनीको ‘देशको हाल’ शीर्षक कवितामा तत्कालीन परिवेशमा देशको अवस्थाको चित्रण गर्दै निराशावाद पस्किएको छ सुधारको अपेक्षामा । भानुभक्त आचार्यले ‘मेरो नाम लाउडा भो’ शीर्षक कवितामा व्यङ्ग्य र अनुप्रासको सुन्दर संयोजन छ र तत्कालीन परिवेशमा अत्यन्त चर्चामा रहेको एउटा राजनीतिक–आर्थिक काण्डसित सम्बन्धित विषयवस्तु रहेको छ । आन्तरिक दृष्टिबिन्दुमा रचित यस कविताबाट आचार्यले आफ्नो कवित्व प्रतिभा देखाउन चाहेका छन् । दुवेश श्रेष्ठको ‘मेरो रहर’ शीर्षक कविताले आफ्ना राम्रा इच्छाहरू पस्केका छन् । ‘प्रजातन्त्रको उपलब्धि’ शीर्षक लघुकथामा ‘होमनाथ पुलामी मगर’ले आन्तरिक द्वन्द्वको समयमा मौलाएका केही विकृति तथा अशान्तिप्रति असहमति व्यक्त गर्दै कतै प्रजातन्त्रको उपलब्धि तिनैलाई मान्नुपर्ने हो कि ? भन्ने जिज्ञासा राख्दै शान्ति र विकासको चाहना अभिव्यक्त गरेका छन् ।
मकवानपुरे साहित्यको दुईपाने साहित्यिक पत्रिकाको निकै ठुलो योगदान रहेको छ । ‘ज्यामिरे’ साहित्यिक त्रैमासिकले पनि जसरी अविरलताको उद्घोष गरेको थियो र जसरी नवसर्जकमा एउटा उत्साह ल्याएको थियो, यसले पनि यहाँको साहित्यिक उन्नयनमा महत्त्वपूर्ण योगदान पुगेको हुनुपर्छ ।
मेरो अगाडि ‘ज्यामिरे’को प्रवेशाङ्क छ । यसपछि यस पत्रिकाले के कति अङ्क निकाल्न सक्यो ? स्पष्ट थाहा हुन सकेन तर केही अङ्कहरू प्रकाशन भएको हुनुपर्छ । यद्यपि साहित्यिेतिहास भवनको एक इँटाको रूपमा यस अङ्कलाई लिन सकिन्छ । पहिलो अङ्कले राम्रा रचनाहरू प्रस्तुत गरेका छन् जुन आफैँमा एउटा इतिहास कायम भइसकेको छ । यस ऐतिहासिक कदमका पाइला चालकहरू पक्कै धन्यवादका पात्र छन् तर वर्तमानमा ‘ज्यामिरे’ कस्तो छ ? ‘ज्यामिरे’को अवस्था के छ ? आजभोलि ‘ज्यामिरे’लाई आफ्नो पहिलो कदमप्रति प्रेम वा अनुराग छ कि ? धेरै वर्षपछि अनायाश हातमा यो अङ्क पर्न आउँदा ‘ज्यामिरे’ले यसरी केही प्रश्नहरू मनमा उमार्दै अलिकति चर्चा गर्न पनि उत्प्रेरित गरेपछि यी भावहरू आएका हुन् ।
(साहित्यमा मकवानपुरको महक : शृङ्खला ४२)
