शेयर बजारमा लगानी गर्दा सजग र सूचनामूलक निर्णय लिन सेबोनको आग्रह

तु खबर संवाददाता
२०८२ चैत्र २, सोमबार १०:४५

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा लगानी गर्दा देशको समग्र आर्थिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्न लगानीकर्तालाई आग्रह गरेको छ। ग्लोबल मनी वीक २०२६ को अवसरमा युवा तथा सर्वसाधारण लगानीकर्तालाई सन्देश जारी गर्दै बोर्डले धितोपत्र बजारमा प्रवेश गर्दा सजग, सूचनामूलक र विवेकपूर्ण निर्णय लिनुपर्ने आवश्यकता औंल्याएको हो।

बोर्डका अनुसार शेयर बजारमा समय–समयमा उतारचढाव आउने स्वाभाविक प्रक्रिया भएकाले लगानी निर्णय गर्दा विश्वसनीय स्रोतबाट तथ्यगत सूचना संकलन गरी संयमित ढंगले निर्णय लिनुपर्छ। बोर्डले विशेषगरी नयाँ लगानीकर्तालाई प्राथमिक बजारबाट लगानीको सुरुवात गर्न सुझाव दिएको छ। प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशन गर्ने कम्पनीको आव्हान पत्र तथा विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक समूह, व्यवस्थापन क्षमता, वित्तीय अवस्था तथा क्रेडिट रेटिङजस्ता पक्षको विश्लेषण गर्नुपर्ने बताइएको छ।

त्यसैगरी दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले सार्वजनिक गर्ने कार्यसम्पादन विवरण, लाभांश घोषणा, हकप्रद सेयर, व्यवस्थापनमा हुने परिवर्तन तथा भावी योजनालगायत विषयको अध्ययन आवश्यक रहेको बोर्डले जनाएको छ। कम्पनीका आवधिक र वार्षिक प्रतिवेदन, वित्तीय सूचकांक तथा सेयर मूल्यको प्रवृत्तिबारे जानकारी लिएर मात्र निर्णय लिन लगानीकर्तालाई सुझाइएको छ।

बोर्डका अनुसार लगानी गर्दा कम्पनीको आधारभूत पक्ष—जस्तै वित्तीय विवरण, व्यवस्थापन क्षमता, उद्योग तथा व्यापारको अवस्था, कानुनी वातावरण, व्यापार मोडेल तथा प्रतिस्पर्धात्मक अवस्थाबारे पनि गहिरो अध्ययन आवश्यक हुन्छ।

लगानीकर्ताले आफ्नो लगानीको उद्देश्य, समयावधि र अपेक्षित प्रतिफल स्पष्ट रूपमा निर्धारण गरेर मात्र शेयर बजारमा प्रवेश गर्नुपर्ने बोर्डको सुझाव छ। धैर्यता, अनुशासन र दीर्घकालीन सोचका साथ लगानी गर्दा जोखिम व्यवस्थापन गर्न सहज हुने बोर्डले जनाएको छ।

यसैबीच, सामाजिक सञ्जालमा फैलिने अपुष्ट अनुमान, प्रक्षेपण वा परामर्शका आधारमा मात्र लगानी निर्णय नगर्न पनि बोर्डले चेतावनी दिएको छ। यस्ता माध्यमबाट हुने धोका, जालसाजी वा छलकपटबाट बच्न लगानीकर्ताले आफ्नै विवेक प्रयोग गर्नुपर्ने बताइएको छ।

अरूको देखासिखी वा लहलहैमा लागेर लगानी नगर्न पनि बोर्डले सुझाव दिएको छ। लगानीका अवसरबारे स्वतन्त्र रूपमा अध्ययन गर्न, निर्णयमा हतार नगर्न तथा अत्यधिक नाफाको ग्यारेन्टी दिने प्रस्तावप्रति सतर्क रहन आग्रह गरिएको छ। शेयर बजारमा मुद्रास्फीति, बैंकिङ प्रणालीको तरलता तथा ब्याजदरजस्ता आर्थिक सूचकहरूले प्रत्यक्ष प्रभाव पार्ने भएकाले लगानी निर्णय गर्दा यस्ता पक्षलाई समेत ध्यानमा राख्नुपर्ने बोर्डले जनाएको छ।

जोखिम व्यवस्थापनका लागि लगानी विविधीकरण गर्न, आपतकालीन कोष सुरक्षित राख्न तथा जोखिमको उचित व्यवस्थापन गर्न पनि बोर्डले सुझाव दिएको छ। साथै भित्री सूचनाका आधारमा हुने कारोबार, कर्नरिङ वा अस्वाभाविक मूल्य उतारचढावजस्ता गतिविधिबाट टाढा रहन लगानीकर्तालाई सचेत गराइएको छ।