होली पर्वमा काठमाडौँमा सार्वजनिक भेला र सांगीतिक कार्यक्रममा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं ले यस वर्षको होली (फागु पूर्णिमा) पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न, मेला-महोत्सव आयोजना गर्न तथा सार्वजनिक स्थानमा भेला भएर होली मनाउन पूर्ण रूपमा रोक लगाएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार होली पर्वलाई चुनावी प्रचारका रूपमा दुरुपयोग हुन नदिन कडाइ गरिएको हो।
जारी विज्ञप्तिमा खुला सडक तथा सार्वजनिक स्थानमा भिड जम्मा गर्ने, मेला-महोत्सव गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्ने, मादक पदार्थको बिक्री-वितरण तथा सेवन गर्ने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। साथै, निर्वाचन आचारसंहिता प्रतिकूल कुनै पनि कार्य नगर्न/नगराउन सबैलाई अनुरोध गरिएको छ।
प्रशासनले होली खेल्दा राजनीतिक दलका चुनाव चिन्ह वा उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा, टोपी, क्याप, ज्याकेट, ब्याच, मास्क, लकेट प्रयोग गर्न वा त्यस्ता सामग्री बोकेर हिँड्न समेत पूर्ण प्रतिबन्ध लगाएको छ।
होली पर्वलाई मर्यादित र सभ्य बनाउने उद्देश्यले कसैको इच्छा विपरीत रंग-अबिर दल्न वा लोला हान्न पनि रोक लगाइएको छ। स्थानीय प्रशासनले नागरिकहरूलाई आफ्नै घरको कम्पाउन्डभित्र सीमित रहेर होली मनाउन आग्रह गरेको छ।
यसअघिल्ला वर्षहरूमा ठमेल, दरबारमार्ग र वसन्तपुरलगायत स्थानमा सांगीतिक कार्यक्रमको अनुमति दिइँदै आए पनि यस वर्ष निर्वाचन सुरक्षाका कारण त्यस्ता कार्यक्रम गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ।

