निर्वाचनको दिन सवारी सञ्चालनमा रोक, मादक पदार्थमा देशभर प्रतिबन्ध
काठमाडौँ। निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित समितिको बैठकले मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन-एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी तथा ढल, दूरसञ्चार मर्मतका लागि प्रयोग हुने सवारी, कूटनीतिक नियोगका सवारीसाधन तथा आयोगबाट पास प्राप्त सवारीसाधन-बाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानको मितिभन्दा सात दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादक पदार्थ बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइनेछ। यससम्बन्धी निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।
त्यस्तै, फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूलाई निर्देशन दिइएको आयोगले जनाएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिहरूलाई तोकिएका व्यक्ति तथा संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार निषेधित गतिविधि रोक्न र उल्लंघन भए तत्काल कारबाही गर्न भनिएको छ।
आयोगका अनुसार मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथावत् सञ्चालन हुनेछन्। टिकट भएका यात्रुलाई विमानस्थल र घर-बसोबास गर्ने होटलबीच यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न दिइने व्यवस्था मिलाइएको छ।
यसैगरी, निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ अनुसार निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न पनि गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।
मतदानका क्रममा मतदाताले आफ्नो मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक साथमा लिएर मतदान केन्द्र जानुपर्ने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।
साथै, सवारीसाधन अनुमति सम्बन्धी कार्यविधि, २०८२ अनुसार मतदानको दिन आयोग र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण इकाइ खडा गरिनेछ। उक्त इकाइमा आयोग र जिल्ला प्रशासन कार्यालयका गरी चार जना कर्मचारी खटाइनेछन्।
निर्णय कार्यान्वयनमा सहजीकरण र समन्वयका लागि सबै सरोकारवालासँग आयोगले सहयोगको आग्रह गरेको छ।
