सरकारले गर्‍यो सहसचिव तहमा सरुवा, संघ-प्रदेश-स्थानीय तहमा खटाइने

तु खबर संवाददाता
२०८२ फाल्गुन १४, बिहीबार १२:५९

काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजको जिम्मेवारी तोकेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हालै उपसचिवबाट सहसचिवमा बढुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका १९ जना तथा अन्य चार जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो।

सरुवा निर्णयअनुसार नेपाल प्रशासन सेवाका १९ जना, नेपाल विविध सेवाका एक जना र नेपाल शिक्षा सेवाका तीन जना सहसचिवमध्ये पाँच जनालाई कामकाजका लागि स्थानीय तहमा खटाइएको छ। बाँकी सहसचिवहरूलाई महानगर तथा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न प्रदेशका प्रदेश प्रमुखको कार्यालयमा सचिव, गृह मन्त्रालय, लोकसेवा आयोग, भाषा आयोगलगायत संघीय निकायमा जिम्मेवारी दिइएको छ।

सरुवाअनुसार एकनारायण शर्मा राष्ट्रपतिको कार्यालयमा खटाइएका छन् भने झनककुमार खत्री राष्ट्रिय दलित आयोगका सचिव बनेका छन्। हिरालाल चौधरी कर्णाली प्रदेश प्रमुखको कार्यालयमा तथा कृष्ण प्रसाद खनाल गृह मन्त्रालयमा जिम्मेवारी पाएका छन्। खडानन्द अधिकारी र डिजन भट्टराई पनि गृह मन्त्रालयमा खटिएका छन्।

स्थानीय तहमा खटाइएकामध्ये तीर्थराज राई धरान उपमहानगरपालिका, मानबहादुर राई नेपालगञ्ज नगरपालिका, रेशमलाल कँडेल वीरगञ्ज महानगरपालिका, महेश पराजुली इटहरी उपमहानगरपालिका र जनकराज भट्ट धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बनेका छन्।

प्रदेश प्रमुखको कार्यालयमा सचिवका रूपमा राजन राई र गोकुल बास्तोला लोकसेवा आयोगमा, प्रेमबहादुर दौत्याल सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा, नारायण प्रसाद दाहाल मधेश प्रदेश प्रमुखको कार्यालयमा, युगराज पाण्डे लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा तथा विजय राना गण्डकी प्रदेश प्रमुखको कार्यालयमा खटाइएका छन्। यसैगरी सुकदेवप्रसाद वाष्कोटा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, मनिष भट्टराई सञ्चार मन्त्रालयमा, कृष्ण जिसी लोकसेवा आयोगमा, दिनेश घिमिरे सामान्य प्रशासन मन्त्रालयमा, कमान सिंह खत्री सामान्य प्रशासनको अतिरिक्त समूहमा र रमेश मैनाली भाषा आयोगमा खटाइएका छन्।

सरकारले हालै बढुवा भएका सहसचिवहरूलाई जिम्मेवारीसहित कार्यक्षेत्र तोक्दै संघीय, प्रदेश र स्थानीय तहमा प्रशासनिक कामलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको जनाएको छ।