निर्वाचनको प्रतीक्षामा लगानीकर्ता, सेयर बजार अस्थिर

तु खबर संवाददाता
२०८२ फाल्गुन ४, सोमबार १५:२६

काठमाडौँ । चार दिनको लगातार गिरावटपछि गत बिहीबार देखिएको शेयर बजारको सामान्य सुधार टिक्न सकेन। सोमबार बजार पुनः ओरालो लाग्दै राताम्य यात्रातर्फ फर्किएको छ। बजार घटेसँगै लगानीकर्तामा निराशा बढेको देखिएको छ।

बजार बढ्ने अपेक्षामा लगानी गरेका धेरै लगानीकर्ताले अपेक्षित प्रतिफल नपाएपछि बिक्रीतर्फ ध्यान दिन थालेका छन्। यसले आपूर्ति बढ्दा माग कमजोर बनेको विश्लेषकहरूको भनाइ छ। लगानीकर्ताको डर र सतर्कताका कारण बजारमा अस्थिरता बढेको र छोटो अवधिमा सन्तुलन कायम गर्न चुनौती रहेको उनीहरूको निष्कर्ष छ। हाल लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहँदा बजारमा तरलता सीमित हुने सम्भावना देखिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर पनि लगानीकर्ताहरू नीतिगत स्पष्टताका लागि प्रतीक्षारत छन्। निर्वाचनपछि नयाँ नेतृत्वले सेयर बजारसम्बन्धी कस्तो नीति लिन्छ भन्ने विषय स्पष्ट नभएकाले सतर्कता कायम रहेको हो।

यद्यपि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउने संकेत दिएका छन् भने पुँजी बजारप्रति केही उदार नीति अपनाउने प्रयास भइरहेको विश्लेषकहरू बताउँछन्। उनीहरूका अनुसार यी पहलले निकट भविष्यमा बजारमा क्रमशः स्थायित्व र सुधार ल्याउन सक्ने सम्भावना छ, तर हालसम्म त्यसको ठोस प्रभाव देखिएको छैन।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१६ अंकले घटेर २६६२.९१ बिन्दुमा झरेको छ। यसदिन ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा कुल ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँको कारोबार भएको हो।

आज १० वटा उपसूचक राताम्य बनेका छन्। विकास बैंक समूह ०.४६ प्रतिशत, वाणिज्य बैंक ०.१२ प्रतिशत, हाइड्रोपावर १.०२ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.६१ प्रतिशतले घटेका छन्। कारोबारका आधारमा रिदि पावर सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ भने आँखु खोला, नाग्दी ग्रुप, एसवाई प्यानल, खानी खोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर, पिपुल्स पावर, श्रीनगर एग्ररीटेक, हिमालयन उर्जा र सिंगटी हाइड्रो इनर्जी पनि सक्रिय देखिएका छन्।

यसदिन ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको घटेको छ। ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। बजार समग्रमा ओरालो लागे पनि तीन कम्पनी—बुद्धभूमि नेपाल, रिलायन्स मिल्स र सालपा विकास बैंक—को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।