निषेधाज्ञाबीच पूर्वराजा शाहको स्वागत तयारी, विमानस्थल क्षेत्रमा समर्थकको भीड

तु खबर संवाददाता
२०८२ फाल्गुन १, शुक्रबार १३:१६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह लाई र्‍यालीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट निर्मल निवास पुर्‍याउने तयारी भएपछि काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। विमानस्थलदेखि निर्मल निवाससम्म उच्च सतर्कतासहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न सुरक्षा व्यवस्था मजबुत बनाइएको हो। विमानस्थल गेटबाहिर राजावादी समूहको प्रदर्शन जारी रहँदा अभियन्ता दुर्गा प्रसाईँ पनि उपस्थित भएका छन्।

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं प्रस्थान गरिसकेका छन् र केही समयमै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। उनलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सहित विभिन्न राजावादी समूहहरूले विमानस्थलमा उपस्थित हुन आह्वान गरेका थिए।

यद्यपि, निर्वाचनको तयारी तीव्र रहेको र आचारसंहिता लागू भइसकेको अवस्थालाई मध्यनजर गर्दै काठमाडौं प्रशासन ले बिहीबारदेखि विमानस्थल आसपास निषेधाज्ञा जारी गरेको थियो। संवेदनशील क्षेत्रमा भिडभाड, प्रदर्शन र नाराजुलुसमा घुसपैठ हुनसक्ने आकलनका आधारमा उक्त निर्णय गरिएको प्रशासनको भनाइ छ।

निषेधाज्ञाका बाबजुद पनि समर्थकहरू विमानस्थल गेटमा जम्मा भएपछि प्रहरीले पन्छाउने प्रयास गरिरहेको छ। बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने काठमाडौंका चोक–चोकमा पनि बाक्लो रूपमा सुरक्षा परिचालन गरिएको छ।