स्वच्छ ऊर्जा दिगो र न्यायपूर्ण भविष्यको आधार हो : इकोसक अध्यक्ष थापा
संयुक्त राष्ट्रसंघ, न्युयोर्क । विश्वव्यापी जलवायु लक्ष्य प्राप्ति र दिगो विकासका लागि स्वच्छ ऊर्जालाई मेरुदण्डको रूपमा अघि बढाउन संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (इकोसक) अध्यक्ष लोकबहादुर थापाले आह्वान गरेका छन् ।
आज सोमबार जनवरी २६ मा संयुक्त राष्ट्र संघको मुख्यालयमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले वर्तमान विश्वले झेलिरहेको भू-राजनीतिक तनाव र बढ्दो असमानताका बीच ऊर्जा क्षेत्रले साझा समृद्धिको नयाँ आधार तय गर्न सक्ने विश्वास व्यक्त गरेका हुन् ।
आफ्नो सम्बोधनका क्रममा अध्यक्ष थापाले विश्वको ९२ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुग्नुलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गरे तर, अझै पनि ६६ करोड मानिस अन्धकारमा रहेको र करीव २ अर्ब जनता खाना पकाउन प्रदूषित इन्धनमा निर्भर रहेको दुःखद यथार्थ उनले प्रस्तुत गरे । यी अभावले विशेष गरी महिला र बालिकाहरूको स्वास्थ्य र जीविकोपार्जनमा विनाशकारी असर पारिरहेको छ स्मरण गर्दै अध्यक्ष थापाले अति कम विकसित मुलुकहरूले स्वच्छ ऊर्जाको विश्वव्यापी वित्तमा अत्यन्तै न्यून हिस्सा मात्र प्राप्त गरिरहेको बताए ।
सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाको क्षमतालाई तीन गुणाले वृद्धि गर्ने, ऊर्जा दक्षतामा सुधारको दरलाई दोब्बर बनाउने र ऊर्जा संक्रमणलाई न्यायपूर्ण, समावेशी र जनकेन्द्रित बनाउँदै कोही पनि पछाडि नछुट्ने सुनिश्चित गर्ने पनि अध्यक्ष थापाले बताए ।
अध्यक्ष थापाले महासभाद्वारा पारित ‘सबैका लागि दिगो ऊर्जा दशक’ विस्तारको विश्वव्यापी कार्ययोजनाको स्वागत गर्दै यसले लगानी वृद्धि र लैंगिक समानतालाई केन्द्रमा राखेर स्पष्ट मार्गचित्र प्रदान गरेको बताए । आगामी जुलाईमा हुने उच्च-स्तरीय राजनीतिक मञ्चमा हुने ऊर्जा सम्बन्धी समीक्षाले थप प्रभावकारी नतिजा ल्याउनेमा थापाले आसा व्यक्त गरे ।
