इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन

तु खबर संवाददाता
२०८२ पुष २७, आईतवार १५:१८

काठमाडौं । इन्डियन आइडलको तेस्रो संस्करणका विजेता तथा चर्चित गायक-अभिनेता प्रशान्त तामाङको निधन भएको छ। आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा ४२ वर्षको उमेरमा उनको निधन भएको हो।

प्रशान्त निकट चलचित्रकर्मी राजेश घतानीले पारिवारिक स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जानकारी दिएका हुन्। दार्जिलिङका गायक महेश सेवालले पनि प्रशान्तको निधन भएको पुष्टि गरेका छन्। घतानीका अनुसार कार्डियाक अरेस्टका कारण उनको असामयिक निधन भएको हो।

नेपाली मूलका गायक तथा अभिनेता तामाङ इन्डियन टिभी रियालिटी शो इन्डियन आइडल जितेपछि नेपाल र भारतमा अत्यन्त लोकप्रिय बनेका थिए। उनले थुप्रै चर्चित नेपाली गीतमा स्वर दिएका छन् भने आधा दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन्।

उनका चर्चित नेपाली चलचित्रहरूमा गोर्खा पल्टन, परदेशीपरदेशी रहेका छन्। यसका साथै उनले सलमान खानको चलचित्र ब्याटल अफ गलवान मार्फत बलिउडमा अभिनय यात्रा सुरु गरेका थिए। हालै मात्र उनी सलमान खानकै एक चलचित्रमा भिलेनको भूमिकामा देखिँदै थिए।

पछिल्लो समय दिल्लीमा बस्दै आएका तामाङको त्यहीँ निधन भएको बताइएको छ। उनका श्रीमती र एक छोरी छन्। उनको निधनले नेपाली संगीत तथा चलचित्र क्षेत्रमा ठूलो शोक छाएको छ।