भेनेजुएलामा अमेरिकी सैन्य कारवाही, मादुरो र उनकी श्रीमती नियन्त्रणमा

तु खबर संवाददाता
२०८२ पुष १९, शनिबार १८:१८

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै अमेरिकाले भेनेजुएलामाथि ठूलो मात्रामा सैन्य हमला गरेको र राष्ट्रपति निकोलस मादुरो तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रथ सोसियल मा लेख्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका नेता मादुरोविरुद्ध सफल अपरेशन सञ्चालन गरेको उल्लेख गरेका हुन्। उनका अनुसार उक्त कारबाही अमेरिकी कानून प्रवर्तन निकायहरूसँग समन्वयमा गरिएको हो। घटनाको विस्तृत विवरण पछि सार्वजनिक गरिने र शनिबार बिहान ११ बजे फ्लोरिडास्थित मार-ए-लागोमा पत्रकार सम्मेलन गर्ने उनले बताएका छन्।घोषणापछि छोटो फोन अन्तर्वार्तामा ट्रम्पले यसलाई उत्कृष्ट र शानदार अपरेशन भन्दै प्रशंसा गरेका छन्। धेरै राम्रो योजना, महान सेना र महान मानिसहरूको काम हो,”उनले भने। यद्यपि, हमलाका लागि कंग्रेसको अनुमति लिइएको थियो वा थिएन भन्ने प्रश्नमा उनले जवाफ दिन अस्वीकार गर्दै पत्रकार सम्मेलनमै सम्बोधन गर्ने बताए।

यसैबीच, भिडियो फुटेजमा भेनेजुएलाको तटीय शहर हिगुएरोटेमा रहेको एक विमानस्थलमा ठूलो आगलागी र विस्फोट देखिएको छ। फुटेजमा आकाशमा आगोका गोलाहरू उडिरहेको र वायु रक्षा प्रणाली जलेको देखिन्छ।सीएनएन समाचारका अनुसार शनिबार बिहान सबेरै हिगुएरोटेमा कम्तिमा दुई पटक आक्रमण भएको थियो। हिगुएरोटे कराकसबाट करिब ८५ किलोमिटर पूर्वमा पर्ने तटीय शहर हो। यसअघि भेनेजुएलाका समाचार माध्यम इफेक्टो कोकुयो र ताल कुअल डिजिटल ले पनि राजधानी कराकसको उत्तरतर्फ रहेको ला गुएरा राज्य र हिगुएरोटेमा विस्फोटको आवाज सुनिएको रिपोर्ट गरेका थिए।

स्थानीय बासिन्दाहरूले आक्रमणपछि एम्बुलेन्स, प्रहरी वा दमकलको साइरन नसुनिएको र मानिसहरू डरको अवस्थामा रहेको बताएका छन्। सामाजिक सञ्जालमा घटनाका भिडियोहरू व्यापक रूपमा फैलिरहेका छन्।यस घटनाबारे भेनेजुएलाको विपक्षी दलले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएको जनाएको छ।