शेयर बजारमा हरियाली, कारोबार रकम पाँच अर्ब नाघ्यो

तु खबर संवाददाता
२०८२ पुष १६, बुधबार १५:१८

काठमाडौं । साता कारोबारको तेस्रो दिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक १०.८७ अंकले वृद्धि हुँदै २६३३.७६ बिन्दुमा पुगेर बन्द भएको हो ।

सोमबारको भारी गिरावटपछि बजारमा सुधार देखिँदा लगानीकर्ताले केही राहत महसुस गरेका छन् । बजारसँगै बुधबार कारोबार रकममा पनि वृद्धि भएको छ । यसदिन ३४२ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर किनबेच हुँदा कुल पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले शेयर बजारमैत्री नीति अपनाउनु र अर्थ मन्त्रालय पनि बजारप्रति सकारात्मक देखिनुले लगानीकर्ताको मनोबल बढेको छ । राजनीतिक स्थिरता, नीतिगत सुधार तथा बैंक ब्याजदर न्यून बिन्दुमा रहेकाले बजारले नयाँ यात्रा तय गर्ने विश्वास थप बलियो बन्दै गएको छ ।

बुधबार कारोबार भएका सबै उपसूचकहरूमा हरियाली छाएको छ । विशेषगरी बैंकिङ र म्यानुफ्याक्चरिङ सूचकमा उल्लेख्य वृद्धि देखिएको छ । यसदिन १६३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।