शान्ति, स्थायित्व र समृद्धिका लागि आज सर्वपक्षीय राष्ट्रिय संवाद

तु खबर संवाददाता
२०८२ पुष १६, बुधबार १०:४२

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकमा आज काठमाडौँमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) को आयोजनामा हुन लागेको उक्त संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने महासङ्घले जनाएको छ।

संवादमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार देशको वर्तमान आर्थिक चुनौती समाधानका लागि संवाद र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि तथा राष्ट्र निर्माणमा युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य लिइएको उनले बताए।

एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा अर्थतन्त्र सुदृढीकरणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस संवादले सकारात्मक निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरिएको छ।