घोषणा सबल बनाउन कर्मचारी नियुक्त गर्दै न्युयोर्क सिटी मेयर मामदानी
न्युयोर्क । सिटीका मेयर जोहरान ममदानीले आफ्नो पदभार ग्रहणको केही समयअघि दुई जना बरिष्ठ अधिकारीहरुलाई नियुक्त गरेको घोषणा गरेका छन् ।
केही समयअघि मेयर एरिक एडम्सले नियुक्त गरेका व्यक्तिहरुलाई बर्खास्त गरेका मामदानीले आफ्नो कार्यकालमा महत्वपूर्ण नीति योजना निर्माणका लागि दुई जना बरिष्ठ अधिकारीलाई नियुक्त गरेको घोषणा गरेका हुन् ।
मेयर मामदानीले जहमिला एडवर्ड्सलाई अन्तर-सरकारी मामिला निर्देशकु र क्याथरिन अल्मोन्टे डा कोस्टालाई ुनियुक्ति निर्देशकको रूपमा नियुक्त गरेका हुन् ।
न्युयोर्कवासीले आफूलाई सहरलाई थप सस्तो र सुरक्षित बनाउन र सरकारी कामलाई चुस्त र उत्कृष्ट बनाउन जिम्मेवारी दिएको बताउँदै नवनिर्वाचित मेयर मामदानीले महत्वपूर्ण जिम्मेवारीमा नियुक्त गरिएको बताए ।
बुधबार नियुक्त गरिएका यी दुई जना बरिष्ठ अधिकारीहरु अनुभवी व्यक्तिहरु भएको बताइएको छ । दुबै जनाको अनुभवले न्युयोर्क सिटीलाई झनै उत्कृष्ठ बनाउन मद्धत गर्ने विश्वास मेयर मामादानीको छ ।
यसअघि मेयर निर्वाचित हुनु अघि मामदानीले सर्वसुलभ बाल हेरचारको व्यवस्था गर्ने घोषणा गरेका थिए । सहरका ६ देखि ५ वर्षसम्मका सबै बालबालिकाका लागि निशुल्क बाल हेरचार सम्बन्धी सेवा उपलब्ध गराउने उनको घोषणा थियो । यसले अभिभावकलाई काममा जान सहज गर्ने र सहर आर्थिक रुपमा सबल हुने विश्वासका साथ उनले यो महत्वपूर्ण योजना घोषणा गरेका थिए । उनले न्युयोर्क सिटीका सबै सार्वजनिक बस सेवालाई निशुल्क बनाउने घोषणा पनि गरेका थिए । यो प्रयासलाई पूरा गर्न सकिएमा नागरिकको खर्च जोगिने र सार्वजनिक यातायातको प्रयोग गर्नेहरु बढ्ने उनको विश्वास थियो ।
राज्य सरकारको अनुमति आवश्यक हुने अर्को महत्वपूर्ण योजना धनीमाथि कर वृद्धिको घोषणा पनि मामदानीको थियो । यसबाट वार्षिक ९ अर्ब डलर कर संकलन हुने विश्वासका साथ यो घोषणा गरिएको थियो ।
यस्तै उनले न्युयोर्कलाई सुरक्षित सहरको रुपमा विकास गर्ने लक्ष्य पनि राखेका थिए । व्यक्तिहरुको आधारभुत आवश्यकता खाना, आवास र शिक्षा पूरा गरेर अपराध कम गर्ने र सरह सुरक्षित बनाउने घोषणा उनको छ ।
मेयर मामदानीले सरकारी कामकाजलाई उत्कृष्ठ बनाउन, भ्रष्टाचारमुक्त बनाउन र सरहको बजेट घाटालाई व्यवस्थापन गर्ने घोषणा पनि गरेका थिए ।
आफ्ना यिनै घोषणाहरुको सफल कार्यान्वयनका लागि अहिले मेयर मामदानीले बरिष्ठ कर्मचारीहरुको नियुक्ति गरिरहेका छन् । एडम्सले नियुक्त गरेका कर्मचारीहरुको सामुहिक बर्खास्तगीपछि आफ्नो टिम निर्माणमा जुटेका मामदानीले योजनाहरुको सबल कार्यान्वयनका लागि अनुभवी व्यक्तिहरु आफ्नो प्रशासनमा नियुक्त गरिरहेका छन् ।
