‘स्मृति’ मासिकको प्रवेशाङ्कपछिका पाइलाको खोजी …

सञ्जय साह मित्र
२०८२ मंसिर २९, सोमबार १९:१४

मकवानपुरे साहित्यलाई कुनै बेला हवाई साहित्यिक पत्रकारिताले निकै भरथेग गरेको थियो । जतिखेर हवाई मित्रता अर्थात् पत्रमित्रताले ओरालो यात्राको सुरुआत गरेको थियो, त्यही बेला नेपाली साहित्यमा हवाई साहित्यिक पत्रकारिताले उत्कर्ष प्राप्त गरेको थियो । हवाई साहित्यिक पत्रिकाबाट रचना प्रकाशनारम्भ गरेर कैयौँ प्रतिभा नेपाली साहित्यको मूल धाराका सशक्त हस्ताक्षर बनेका छन् । हवाई साहित्यिक पत्रकारितालाई अहिले मूल्यांकन गर्दा एउटा युगको सार्थक काम लाग्दछ । हवाई साहित्यिक पत्रिकाको प्रकाशन आफ्नो गाउँठाउँको पहिचानसित जोडिन पुगेको त्यस युगमा मकवानपुरबाट पनि अनेकौँ हवाई साहित्यिक पत्रिकाहरु प्रकाशन भएका थिए । धेरै साहित्यकार तथा नवसर्जक हवाई साहित्यिक पत्रकारितासित जोडिन पुगेका थिए र कतिपय अवस्थामा नवसर्जकहरुको सहकार्यमा पनि यस किसिमको पत्रिकाको प्रकाशन भएको थियो । यसै क्रममा मकवानपुरबाट प्रकाशित भएको थियो – ‘स्मृति’ साहित्यिक हवाई मासिक ।

श्री विन्ध्यवासिनी क्लब हेनपा ८, कमाने प्रकाशक रहेको प्रस्तुत स्मृति मासिकको प्रवेशाङ्कमा सल्लाहकारमा दीपक खतिवडा रहनु भएको छ । पत्रिकाको प्रमुख सम्पादकमा भुपेन्द्र कोइराला र सम्पादकद्वय लीलाप्रसाद घिमिरे तथा विष्णुप्रसाद लामिछाने रहनु भएको छ । यसै गरी पत्रिकाको व्यवस्थापकमा नारायण धिताल रहनुभएको छ । पत्रिकाको लागि पत्राचार ठेगानामा श्री मनकामना उपभोक्ता सहकारी संस्था लिमिटेड हेटौँडा ८ कमानेलाई राखिएको छ । यसबाट यो स्पष्ट हुन आउँछ कि पत्रिकामा एउटा ठुलो समूहको सहकार्य रहेको थियो । वर्ष १ अंक १ लाई २०५८ आश्विन–कार्तिकको मिति उल्लेख गरिएको छ । यस अर्थमा, वर्तमानमा भन्न सकिन्छ, यस पत्रिकाले इतिहासको एउटा क्षणलाई स्मृति गराएको छ । यस अंकमा आएका केही रचनाहरुबारे पनि यहाँ चर्चा गरिएको छ ।

पत्रिकाको प्रथम रचनाको रुपमा ‘विवशता’ कविताले स्थान पाएको छ । कवि हुन् एल.पि.घिमिरे । कतिपय अवस्थामा यथार्थहरु बाहिर नल्याउन मानिसहरु विवश हुन्छन् । यही यथार्थलाई कविताले प्रस्तुत गरेको छ । ‘समातेको अलिकति’ शीर्षकमा दीपेन्द्र के.सी.ले लेखेको कविताले मानवतावादलाई प्रस्तुत गरेको छ । वेद कुमार लोले ‘वसन्तहरु पार गर्दै’ शीर्षकमा उमेर बढ्दै जाँदा मानिसले सुख र दुःखका समयहरु गुजार्दै जानुपर्ने यथार्थलाई छोटकरीमा बताइएका छन् । यसै गरी ‘नियति’ शीर्षकमा विष्णु प्रसाद लामिछानेले देशको तत्कालीन राजनैतिक यथार्थलाई प्रस्तुत गर्दै शान्तिको चाहना अभिव्यक्त गरेका छन् । पत्रिकाको प्रथम पृष्ठमा रहेका रचनाहरु यत्ति नै हुन् ।

द्वितीय पृष्ठमा सम्पादकीय रहेको छ । यसमा भनिएको छ – पाठकको प्रतिक्रियाअनुसार यात्रा अगाडि बढ्ने छ । पत्रिका परिवारको नामावली दिइएको छ र यस पृष्ठमा एउटा मात्र रहना रहेको छ – ‘निरन्तर – निरन्तर’ शीर्षकमा । धनकुटाका कमल दाहालको कविता हो यो । नैतिक उपदेश यसमा दिइएको छ । निरन्तर काममा अगाडि बढिइरहने प्रेरणा दिइएको छ जसले सफलतामा पुर्‍याउन सक्छ । सम्पादकीय पृष्ठमा पर्नलायक कविता हो यो ।

साप्ताहिकबाट साभार गरिएको रत्न बहादुर बस्नेतको ‘शान्तिको प्राप्ति’ दार्शनिक लघुकथा हो । पौराणिक आधार लिइएको जस्तो देखिन्छ । यस नीतिकथामा चिलले शान्तिको सास फेरेको अवस्थालाई देखाएर महात्माले ज्ञान लिएको बताइएको छ । त्यागले जीवनमा शान्तिको अनुभूति हुने र संग्रहको कारण दुःख पाइने सन्देश दिइएको छ । ‘यो जिन्दगी’ शीर्षकमा सकुल खड्का ‘विवश’को कविता रहेको जसमा मानिसको बाहिरको जिन्दगी देखावटी भएको र देखाइएको भन्दा पृथक जीवन बाँचिरहेको बताइएको छ । पत्रिकामा प्रविना कार्कीको ‘हरियो वन’ शीर्षकमा बालकविता रहेको छ । वनलाई सुन्दर, हरियो र हाम्रो जीवनको लागि अमूल्य भएको बताइएको छ । यसै गरी दामोदर पौडेलको ‘नेता’ शीर्षकमा हाइकु रहेको छ भने ‘प्रेम’ शीर्षकमा सुशील पौडेलको पनि हाइकु रहेको छ । दुवैमा प्रकृति चित्रण नपाइएकोले नेपाली शैलीको हाइकु भन्न सकिन्छ । तेस्रो पृष्ठमा रहेका रचना यति नै हुन् ।

वि.पि.आलोक पुस्तकालयद्वारा आयोजित मा.वि.स्तरीय कविता प्रतियोगितामा तृतीय भएको भनिएको गंगा प्रसाद पौडेलको ‘के हुँदैछ ? के हुँदैछ ? म र मेरो देश’ शीर्षकको कविता देशमा विषम परिस्थिति रहेको र अशान्तिको बिचमा पनि शान्तिको चाहना अभिव्यक्त भएको छ । जय कुमार थापाले ‘टुहुरो’ शीर्षकमा सानो कविता लेखेका छन् । यसमा आफू टुुहुरो भएको र सहाराको खोजी गरिएको बताइएको छ । यसै गरी ‘नगर्नु यस्तो’ शीर्षकमा गोविन्द पौडेलले नवयुवाहरुमा देखिने विकृतिको चिरफार गर्दै नगर्न अनुरोध गरेका छन् । विकृतिमा रमाउनेलाई नरमाउने सुझाव दिइएको छ । कलाका दृष्टिले केही कमजोर भए पनि विषयवस्तु र भावका दृष्टिकोणले यस पृष्ठका कविताहरु राम्रा छन् । यस पृष्ठमा जम्मा तीन रचना रहेका छन् ।

भुपेन्द्र कोइरालाले ‘बाँचेकी छिन् हिरा’ शीर्षकको कथामा हिरा नामकी पात्रले अपहेलना, तिरस्कार, गरिबी र पीडामा बाँचेकी बताइएको छ । सौतेनी आमाको व्यवहार र परदेशीसित विवाह गरेर घरबाट पन्छाएको मानिने अवस्थामा हिराको संघर्ष उत्कर्षमा पुगेको छ । एक पृष्ठमा अटाएको यस कथाको कथानक बलियो भएर पनि अन्य पक्ष भने कमजोर छ । वर्णनात्मक शैलीमा लेखिएको छ कथा ।

‘मैले देखेको सपना’ शीर्षकमा सहदेव खड्काको कविता रहेको छ । कवितामा भोगेको जीवनलाई प्रस्तुत गर्दै अन्तिममा जीवनको परिभाषा दिइएको छ – आँशु र हाँसोको संगम जिन्दगी रहेछ । नारायण धितालले ‘निष्ठुरीलाई सम्झिबस्दा’ शीर्षकमा विरहको वेदना पोखेका छन् । पिरतीमा धोका पाएपछि विरहमा पर्दा प्रेमको दर्शन ज्ञात हुन्छ । कवि यसमा दार्शनिक पनि बन्न पुग्छन् ।

‘स्मृति’ साहित्यिक हवाई मासिकको पहिलो अंकलाई समग्रमा मध्यमस्तरको भन्न सकिन्छ । पहिलो अङ्क अर्थात् प्रवेशाङ्कमा प्रकाशित हुनुपर्ने जस्तो रचना चाहिँ प्रकाशित भएको देखिन्छ । उक्त समयमा देशको राजनीतिक अवस्था निकै भयावह थियो । देशको अवस्था र सर्वसाधारणको चाहना दुवै भावलाई बोकेर यस पत्रिकाले आफ्नो यात्रा थालेको देखिन्छ । यात्रारम्भ त भयो तर यसपछि के भयो ? स्मृति केवल स्मृति बनेर रह्यो कि ? मकवानपुरे साहित्यको इतिहास लेख्नेहरुले यसलाई नबिर्सिऊन् ।

(साहित्यमा मकवानपुरको महक : शृङ्खला ३९)