एनपीएल आज नयाँ इतिहासको खोजीमा सुदूरपश्चिम र लुम्बिनी

तु खबर संवाददाता
२०८२ मंसिर २७, शनिबार ०८:०३

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणले आज नयाँ च्याम्पियन पाउने छ । उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमनेसामने हुँदैछन् । फाइनल खेल दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ ।

सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा पुग्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको हो । दुवै टोलीले अहिलेसम्म उपाधि नजितेकाले यस संस्करणमा नयाँ च्याम्पियन बन्नेछ ।

लिग चरणमा सातमध्ये छ खेल जित्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई पराजित गर्दै सिधै फाइनलमा स्थान पक्का गरेको थियो । गत संस्करणमा जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित हुँदै उपविजेतामै सीमित सुदूरपश्चिम यसपटक त्यसलाई  पूरा गर्दै उपाधि जित्ने लक्ष्यमा छ । कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सन्तुलित देखिएको छ ।

अर्कोतर्फ, लुम्बिनी लायन्सले यसपटक उतारचढावपूर्ण प्रदर्शनका बाबजुद पनी इलिमिनेटर र दोस्रो क्वालिफायर जित्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । लिग चरणमा सातमध्ये चार खेल जितेर चौथो स्थानमा रहेको लुम्बिनीले पछिल्ला खेलहरूमा विशेषगरी बलिङमा प्रभावशाली प्रदर्शन गर्दै लगातार पाँच जित निकाल्न सफल भएको छ । कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी पहिलो उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा छ ।

यो सिजनमा यी दुई टोलीबीच लिग चरणमा भएको एक मात्र खेलमा सुदूरपश्चिम रोयल्स सात विकेटले विजयी भएको थियो । गत संस्करणमा भएको खेलमा पनि लुम्बिनी ४५ रनले पराजित भएको थियो । त्यसैले फाइनलको यो तेस्रो खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको कप्तानी द्वन्द्वका रूपमा पनि यो फाइनललाई हेरिएको छ । कप्तान ऐरीले गत वर्ष फाइनलमा चुकेको पीडा बिर्सँदै यसपटक च्याम्पियन बन्ने लक्ष्य रहेको बताएका छन् भने कप्तान पौडेलले टोली सबै हिसाबले तयार रहेको र ध्यान ट्रफी जित्नेमै केन्द्रित रहेको बताएका छन् ।

शनिबार अपराह्न हुने यो फाइनल खेलसँगै दोस्रो संस्करणको एनपीएल च्याम्पियनको टुंगो लाग्नेछ । जसले जित हात पार्‍यो, उसले उपाधि जित्ने मात्र होइन, एनपीएलको इतिहासमा नयाँ नाम पनि लेख्नेछ ।