एनपीएल इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

तु खबर संवाददाता
२०८२ मंसिर २४, बुधबार १०:३३

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण अन्तर्गत आज इलिमिनेटर खेल हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा बुधबार अपराह्न ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

यो खेल पूर्ण रूपमा नकआउट प्रकृतिको हो। पराजित टोलीको प्रतियोगिताबाट यात्रा समाप्त हुनेछ भने विजयी टोलीले उपाधि सम्भावना कायम राख्दै दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। इलिमिनेटर जित्ने टोलीले बिहीबार विराटनगर किङ्ससँग दोस्रो क्वालिफायर खेल्नेछ।

लिग चरणमा काठमान्डु गोर्खाज तेस्रो स्थानमा रहँदा लुम्बिनी लायन्स चौथो स्थानमा थियो। लिग चरणकै भेटमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो। हालसम्म भएका दुवै भेटमा काठमान्डु विजयी रहेकाले दबदबा कायमै राख्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। उता लुम्बिनी भने पहिलोपटक प्लेअफ पुगेको उत्साहसहित काठमान्डुलाई प्रतियोगिताबाट बाहिर्याउने दाउमा रहनेछ।

काठमान्डु गोर्खाजका कप्तान करण केसी हुन्। टोलीमा मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, मिलिन्द कुमार, राशिद खान, भीम शर्की, सन्नी पटेल, उत्तम मगर, जोन सिम्पसन, रिकार्डो भास्कोनसेलोसलगायत अनुभवी खेलाडी छन्। टोलीलाई नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देशाइले प्रशिक्षण दिइरहेका छन्।

लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेलले गरेका छन्। टोलीमा गुलबदीन नाइब, डार्सी सर्ट, रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, दिलीप नाथ, दिनेश अधिकारी लगायतका खेलाडी समेटिएका छन्।

मंगलबारको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ। अब दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

आजको इलिमिनेटर खेलले एनपीएल दोस्रो संस्करणको फाइनल यात्रा अझ रोचक बनाउने  छ।