साहित्यकार मित्रलाई अनिता शिव अन्तर्राष्ट्रिय बज्जिका सर्वोच्च कृति पुरस्कार

तु खबर संवाददाता
२०८२ मंसिर २१, आईतवार १८:१०

रौतहट । बज्जिका भाषाका शिरोमणि साहित्यकार सञ्जय साह मित्रलाई बुद्ध महाकाब्यका लागि अनिता शिव अन्तर्राष्ट्रिय बज्जिका सर्वोच्च कृति पुरस्कार २०२४ प्रदान गरिएको छ । माधवनारायण नगरपालिकाको मिठुअवामा आयोजित एक कार्यक्रममा मित्रलाई सर्वोच्च कृति पुरस्कार प्रदान गरिएको बज्जिका साहित्यकार बिजय यादव निर्बीज ले जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष नीतिश गुप्ताले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि घनश्याम न्यौपाने परिश्रमी र अतिथिहरुमा मणिभुषण प्रसाद सिंह अकेला, डा. उषा किरण श्रीवास्तव, डा. सतिशचन्द्र भगत, रामचन्द्र महतो कुशुवाह, किशुन दयाल यादव, रमेश समर्थन र कुमार विवेकानन्द मिश्र लगायत थिए ।

समारोहमा साहित्य, भाषा, संस्कृति र बज्जिका पहिचानका विविध पक्षमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो भने भारतबाट समेत बज्जिका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

दुई दर्जनभन्दा बढी पुस्तकका लेखक मित्र विभिन्न राष्ट्रियस्तरका पुरस्कारबाट पनि सम्मानित छन् । पत्रकारितामा पनि तीन दशकभन्दाबढी समयदेखि सक्रिय छन् भने पत्रकारिताका माध्यमबाट पनि बज्जिका भाषाको विकासमा निरन्तर क्रियाशील छन् ।