एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त
काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई महत्वपूर्ण खेल हुँदैछन्। लिग चरणको निर्णायक मोडमा आइपुगेका यी खेलले टिमहरूको प्लेअफ यात्रामा ठूलो असर पार्नेछन्।
पहिलो खेल दिउँसो ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच हुँदैछ। पाँच खेलबाट चार अंकसहित पाँचौँ स्थानमा रहेको पोखरालाई प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ। पोखराले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
उता, छ खेलबाट आठ अंक जोडेर दोस्रो स्थानमा रहेको काठमाडौंले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो। काठमाडौंले आज जित निकाल्न सके प्लेअफ स्थान सुरक्षित गर्नेछ। काठमाडौंको नेतृत्व करण केसीले गरिरहेका छन्।
दोस्रो खेल अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ। लिगमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिम १० अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफ स्थान सुरक्षित गरिसकेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको टोली आज छैटौँ खेल खेल्दैछ र लय कायम राख्न खोज्नेछ।
चितवन राइनोजका लागि पनि आजको खेल उत्तिकै निर्णायक छ। पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफको आशा जीवित राख्न आजको खेल जित्नैपर्ने बाध्यता छ। कुशल मल्लको कप्तानीमा रहेको टोलीले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
आज हुने दुवै खेल लिग तालिकामा ठूलो परिवर्तन ल्याउने सम्भावना भएकाले धेरै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने छ।



