पुँजी बजारको उतार–चढावले आत्तिदै लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा पछिल्लो समय उतार–चढाव निरन्तर जारी रहेको छ । केही दिनयता बजार सुस्त रहेको छ भने लगानीकर्ताको मनोबल पनि खुम्चिँदै गएको छ । बजार घट्दा डर र बढ्दा उत्साह हुने प्रवृत्तिका कारण सामान्य लगानीकर्ताले सतर्कता अपनाइरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक लाभांश प्रस्ताव गरिरहे पनि बजार राताम्य देखिएको छ । बैंकको ब्याजदर निरन्तर घट्दै गएको छ भने नियामक निकायहरू नीति सुधारमा सक्रिय छन् । यद्यपि, यी सकारात्मक संकेतले बजारमा ठूलो उत्साह ल्याउन सकेको छैन । विशेषज्ञहरूले बजारको अस्थिरता भावनात्मक उतार–चढाव र अनुभवहीन लगानीकर्ताको हडबडीसँग जोडेर विश्लेषण गरेका छन् ।
शेयर बजारमा अस्थिरता ल्याउन माफिया समूह र ठूला लगानीकर्ताको चलखेलले पनि भूमिका खेलेको आशंका गरिएको छ । राजनीतिक अस्थिरता र आगामी आन्दोलनका खबरले लगानीकर्तामा जोखिम लिने डर बढाएको छ । यसले दीर्घकालीन लगानीकर्ताहरू समेत सतर्क हुन बाध्य बनाएको छ ।
यसबीच, बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिक विवरणले पनि बजारमा नकारात्मक संकेत दिएको छ । राजनीतिक अस्थिरता र आन्दोलनका कारण धेरै बैंकहरूको नाफा घटेको र खराब कर्जा बढेको देखिएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर पार्दै बजारमा सतर्कता बढाएको विश्लेषकहरूले बताएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अकंले बढेर २५५०.३६ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.५० प्रतिशत र हाइड्रोपावर समूहको १.०८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
सोमबार १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको घटेको छ । आज १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।




