दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आज (बिहीबार) गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई देशको ३३औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। उनका पूर्ववर्ती आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी बुधबार अनिवार्य अवकाशमा गएका थिए।
२०५४ साल चैत महिनामा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्कीको ३० वर्षे सेवा अवधि २०८४ साल चैतमा पूरा हुनेछ। यसअनुसार उनी सो समयसम्म प्रहरी महानिरीक्षकका रूपमा रहनेछन्।
आईजीपी नियुक्त हुनु अघि कार्की उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखका रूपमा कार्यरत थिए। जेन–जी आन्दोलनपछि अस्तव्यस्त बनेको उपत्यकाको सुरक्षा स्थितिलाई सम्हाल्न उनले गत भदौ २४ गतेदेखि उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए।



