पुँजी बजारमा निराशै-निराशाः कारोबार निरन्तर खुम्चिदै

तु खबर संवाददाता
२०८२ कार्तिक २५, मंगलवार १५:१९

काठमाडौँ । निरन्तर राताम्य यात्रामा रहेको शेयर बजार आज भने केही सुधारको संकेत देखिएको छ । पछिल्ला दिनमा लगातार घट्दै आएको बजारमा मंगलबार झिनो अंकले वृद्धि देखिएपछि सामान्य राहत देखिए पनि लगानीकर्ताको मनोबल भने उठ्न सकेको छैन । बजारमा देखिएको सानो सुधारले दीर्घकालीन स्थिरता ल्याउने विश्वास भने उत्पन्न गर्न सकेको छैन ।बजारमा सुधारका संकेत देखिए पनि लगानीकर्तामा निराशा कायम छ । ब्याजदर घट्ने र नीतिगत सुधारका प्रयासहरू भइरहेका बेला समेत बजारमा सकारात्मक माहोल नफैलिनु नियामक निकायका लागि चिन्ताको विषय बनेको छ । पछिल्लो समय बजारमा निरन्तर उतारचढाव देखिँदा साना तथा अनुभवहीन लगानीकर्ताहरू उच्च जोखिममा परेको देखिन्छ । बजार बढ्दा उत्साहित भई खरिदमा होमिने र घट्दा आत्तिएर बिक्रीमा उत्रिने लगानीकर्ताको व्यवहारले पूँजी अलपत्र पारेको विश्लेषकहरू बताउँछन् ।

शेयर बजारको अस्थिरतालाई माफिया समूह र ठूला लगानीकर्ताको चलखेलले अझ गम्भीर बनाएको आशंका गरिएको छ । राजनीतिक अस्थिरता, अनिश्चित निर्वाचन समय र नीतिगत द्विविधाले बजारमा दीर्घकालीन विश्वास निर्माण हुन नदिएको विश्लेषण गरिएको छ । यसले जोखिम लिन चाहने लगानीकर्तालाई समेत पछाडि धकेलेको छ ।यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिक विवरण सार्वजनिक भइसकेको छ । राजनीतिक अनिश्चितता र आन्दोलनका कारण धेरै बैंकहरूको नाफा घटेको देखिन्छ भने खराब कर्जा निरन्तर बढ्दो छ । यस अवस्थाले बजारमा नकारात्मक मनोविज्ञानलाई बल पु¥याएको छ र लगानीकर्ताको मनोबल अझै कमजोर बनाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अकंले बढेर २५६५.१६ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ७९ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।यसदिन ६ उपसूचक राताम्य भएका छन् भने ७ उपसूचकमा सामान्य सुधार देखिएको हो । आज विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२९ प्रतिशतले शेयर मूल्य घठेको छ ।मंगलबार १४२ कम्पनीको बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको स्थिर रहेको देखिन्छ ।