सुकुम्बासी बस्ती हटाउने निर्णयप्रति जेन–जि मुभमेन्ट अलायन्सको आपत्ति
काठमाडौं । जेन–जि मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति कडा आपत्ति जनाएको छ।
अलायन्सले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त अध्ययन, तयारी र सहमतिबिना बस्ती हटाउने तयारी गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “न्यायपूर्ण र सहमतिको व्यवस्थापन नगरी बलपूर्वक बस्ती हटाउने प्रयासले उत्पीडित जनतामाथि थप अन्याय हुनेछ।”
संस्थाले नेपाली जनताको ठूलो हिस्सा आफ्नै देशमा भूमिहीन र विस्थापित बनाइएका ऐतिहासिक कारणहरूको बेवास्ता गरी यस्ता निर्णय गरिनु खेदजनक रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “मौजुदा ऐन–कानुनले बस्ती हटाउने प्रक्रिया र अधिकारबारे स्पष्ट व्यवस्था गरेको भए पनि त्यसलाई पालना नगरी आतंक र भयको वातावरण सिर्जना गरिनु नागरिक अधिकारमाथिको प्रहार हो।”
जेन–जि मुभमेन्ट अलायन्सले भूमिहीन र सुकुम्बासी समुदायको अधिकार सुनिश्चित गर्न सरकार र स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गर्दै सहमतिको बाटोबाट मात्र समाधान खोज्न अपिल गरेको छ।


