हङकङ विमानस्थलमा कार्गो विमान दुर्घटना, दुई कर्मचारीको मृत्यु

तु खबर संवाददाता
२०८२ कार्तिक ३, सोमबार १०:०३

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान एक कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुःखद दुर्घटना भएको छ । टर्किस कार्गो सेवा एसीटी एयरलाइन्सद्वारा सञ्चालित उक्त बोइङ विमान स्थानीय समय अनुसार बिहान ३:५० बजे दुबईबाट आइपुग्दै गर्दा रनवेबाट बाहिर निस्किएर दुई टुक्रा भएको बताइएको छ ।

विमानले धावनमार्ग पार गर्ने क्रममा त्यही ठाउँमा नियमित सुरक्षा गस्तीमा रहेका गाडीमा ठोक्कियो र सो गाडीलाई समेत समुद्रतर्फ धकेल्यो, जसका कारण गाडीमा रहेका दुई विमानस्थल कर्मचारीको मृत्यु भयो । दुर्घटनापछि सार्वजनिक भएका भिडियोहरूमा विमानको पुच्छर भाग छुट्टिएको र अगाडिको भाग गम्भीर रूपमा क्षतिग्रस्त भएको देखिन्छ ।

चालक दलका चार सदस्यलाई तुरुन्तै उद्धार गरी अस्पताल पठाइएको र उनीहरू सुरक्षित रहेको पुष्टि गरिएको छ । विमानमा कुनै कार्गो नरहेको एयरलाइन्सले जनाएको छ । हङकङको नागरिक उड्डयन विभागका अधिकारीहरूका अनुसार विमानले आपतकालीन संकेत नपठाएको र पाइलटहरूले सहायता मागेको कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।

घटनास्थलमा २००भन्दा बढी उद्धारकर्मी, दमकल तथा डुङ्गाहरू परिचालन गरी ठूलो मात्रामा राहत तथा उद्धार कार्य चलाइएको थियो । दुर्घटनापछि विमानस्थलको उत्तरी धावनमार्ग बन्द गरिएको छ, तर बाँकी दुई धावनमार्ग सञ्चालनमा रहेकाले दैनिक १,००० भन्दा बढी उडानमा बाधा नपर्ने अनुमान गरिएको छ ।

हङकङ विमानस्थलमा यस प्रकारका घातक दुर्घटना दुर्लभ मानिदै आएको भए पनि यस घटनाले विमानस्थल सुरक्षा, आपतकालीन तयारी र कार्गो उडानका जोखिमप्रति गम्भीर पुनरावलोकन आवश्यक रहेको संकेत दिएको छ ।