नेपाल विश्वकप छनोटको च्याम्पियन

काठमाडौं । नेपाल आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको च्याम्पियन बनेको छ ।
सुरुवातदेखि अन्तिम सम्मका सबै खेलमा विजयी भई नेपालले अपराजीत रुपमा विश्वकप छनौटको च्याम्पियन बनेको हो ।
ओमानमा भएको छनौटमा अन्तिम खेलमा आज नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराएको हो । समूह चरणदेखि सुपर सिक्सका सबै खेलमामा नेपाल अपराजीत रह्यो ।
नेपालको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए भने करण केसी, सन्दीप छामिछाने र कप्तान रोहित पौडेलले १ १ विकेट लिए ।
टस हारेर ब्याटिङका लागि निम्तो पाएको नेपालले आसिफ शेख र दीपेन्द्र सिंह ऐरीको अर्ध शतक योगदानमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो ।
लोकेश बमले ३९ रन, रोहित पौडेलले २१ रन र कुशल भुर्तेलले १७ रन बनाए । कप्तान पौडेल अविजीत रहे ।
सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १/१ विकेट लिए ।