जेनजी आन्दोलन आपराधिक मानसिकताले हिंसात्मक भयो: गृहमन्त्री

तु खबर संवाददाता
२०८२ आश्विन ३१, शुक्रबार १३:२०

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलन आपराधिक मानसिकताका व्यक्तिहरूका कारण हिंसात्मक बनेको बताएका छन् । शुक्रबार ७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

मन्त्री अर्यालका अनुसार जेनजी आन्दोलन प्रारम्भमा शान्तिपूर्ण अपेक्षा गरिएको भए पनि आपराधिक सोचका केही व्यक्तिहरूले आन्दोलनको आडमा नेपाल सरकारका महत्त्वपूर्ण प्रतिष्ठान, व्यापारिक केन्द्र, सार्वजनिक सेवा प्रदायक कार्यालयहरू र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरी हिंसा फैलाएका हुन् ।

उनले भने, “आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेर आन्दोलन हिंसात्मक बनाए ।

मन्त्री अर्यालले भदौ २३ र २४ मा भएका जेनजी प्रदर्शनका क्रममा सयौं प्रहरी कार्यालयमा आगजनी भएको उल्लेख गर्दै प्रहरी संस्थाका साधन र स्रोत उपलब्ध गराउन गृह मन्त्रालय गम्भीरताका साथ प्रयत्नशील रहेको बताए ।

सोही क्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारी—असई मिलन राय र सहायक हवलदार अमृत गुरुङसहितका परिवारलाई मन्त्री अर्यालले सम्मानसमेत गरेका थिए ।