भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ मा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीवार बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार सो समयमा भाइटीका लगाउन सबैभन्दा शुभ मानिनेछ।
राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने परम्परा रहे पनि साइत नहेर्नेका लागि बिहानदेखि मध्याह्नसम्म कुनै बाधा नहुने समितिले जनाएको छ।
समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित योग तथा विजय मुहूर्तको शुभ समयलाई आधार बनाइएको हो।
यस वर्षको यमपञ्चक (तिहार) पर्व कात्तिक १ गते शनिवारदेखि सुरु हुँदैछ। सो दिन यमदीप दान र धनतेरस पर्व मनाइनेछ।
कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार कुकुर तिहार, नरक चतुर्दशी तथा लक्ष्मीपूजा मनाइनेछ।
कात्तिक ४ गते मङ्गलवार बिहान औँशी तिथिमा स्नान र दान गर्ने परम्परा रहँदै आएको समितिले जनाएको छ।
कात्तिक ५ गते बुधवार गाई, गोरु र आत्मपूजा (म्ह पूजा) मनाइनेछ। आत्मपूजा विशेषगरी नेवार समुदायले मनाउने परम्परा हो।
त्यसै दिन नेपाल संवत् ११४६ नयाँ वर्षको सुरुवात पनि हुनेछ।
अन्ततः कात्तिक ६ गते बिहीवार भाइटीका मनाइँदैछ, जसको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा निर्धारण गरिएको छ।