भोटेकोशीमा ‘जेनजी आन्दोलन’पछि स्थानीय समूहलाई १० प्रतिशत निःशुल्क शेयर

तु खबर संवाददाता
२०८२ आश्विन २७, सोमबार ०८:४२

काठमाडौँ। ‘जेनजी आन्दोलन’को नाममा भोटेकोशी गाउँपालिकाको एक समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै अपर भोटेकोशी जलविद्युत् आयोजनाबाट १० प्रतिशत निःशुल्क शेयर प्राप्त गरेको छ।

भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड नामक समूहले ४५ मेगावाट क्षमताको आयोजनाबाट स्थानीयलाई १० प्रतिशत शेयर दिनुपर्ने माग राख्दै करिब एक महिनादेखि आयोजना ठप्प बनाएको थियो। आन्दोलनका कारण निर्माण कार्य, प्रशासनिक प्रक्रिया र वित्तीय कारोबारसमेत अवरुद्ध भएका थिए।

लगातारको अवरोधपछि आइतबार भोटेकोशी पावर कम्पनी र भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच अन्ततः सम्झौता भएको छ। सम्झौता अनुसार आयोजनाको कुल शेयरमध्ये १० प्रतिशत निःशुल्क रूपमा स्थानीय समूहलाई दिने सहमति गरिएको हो।

सम्झौतामा जेन–जी पब्लिक इन्भेष्टमेन्टका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका सचिव विश्वमोहन कर्माचार्यलगायतका हस्ताक्षर छन्। सम्झौता पत्रमा उल्लेख छ, “भोटेकोशी पावर कम्पनी प्रा.लि. (दोस्रो पक्ष) ले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो। दोस्रो पक्षले प्रथम पक्षलाई दिने भनेको उल्लेखित १० प्रतिशत शेयर साबिक २०७१ साल माघ ९ गतेको सम्झौता अनुसारको ६ प्रतिशतमा ४ प्रतिशत थप गरी जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरियो।”

यसअघि आयोजनाले राजनीतिक दलका स्थानीय प्रतिनिधिहरूको रोहबरमा स्थानीयलाई ६ प्रतिशत शेयर दिने सहमति गरेको थियो। तर भदौ २३–२४ गते सुरु भएको जेन–जी आन्दोलनको क्रममा ‘भोटेकोशी जेनजी ग्रुप’ नामक समूहले आयोजना बन्द गराउँदै १० प्रतिशत शेयर निःशुल्क दिनुपर्ने अडान लिएको थियो।

कम्पनीले सुरुमा १० प्रतिशत शेयर दिन सहमति जनाएको भए पनि निशुल्क रूपमा दिन नसकिने बताएको थियो। त्यसपछि आन्दोलन झन् तीव्र बन्यो र आयोजनाको कामकाज पूरै ठप्प भयो। अन्ततः करिब एक महिनापछि आइतबार दुवै पक्षबीच सम्झौता भएपछि आयोजना पुनः सञ्चालनमा आएको हो।