एमालेको विधान महाधिवेशन आज सकिँदै
काठमाडौं । नेकपा एमालेको ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशन आज सम्पन्न हुँदैछ । भदौ २० गतेदेखि सुरु भएको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो । सो क्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ अध्यक्ष केपी शर्मा ओलीले दिने कार्यक्रम छ । त्यसपछि समसामयिक प्रस्ताव पारित गरेर महाधिवेशन समापन गरिनेछ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र तीन सय १५ जना आयोजकसहित कुल दुई हजार ३४१ जना सहभागी रहेका छन् ।
महाधिवेशनले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान मस्यौदा र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव पारित गर्नेछ । यसक्रममा ७० वर्षे उमेर हद र एउटै नेता दुई कार्यकारी पदमा बस्न नहुने प्रावधानलाई हटाउने तयारी गरिएको छ ।
यसैबीच, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यतामा रोक लगाइएको र शक्तिशाली नेताका नजिकका व्यक्तिलाई मात्रै जिम्मेवारी दिइएको भन्दै केही असन्तुष्टि पनि देखिएको छ ।
एमालेले यस विधान महाधिवेशनमार्फत “मिशन ८४” अन्तर्गत आगामी आम निर्वाचनमा पहिलो पार्टी बन्ने लक्ष्यसहितको कार्यक्रम बनाउने र अभियान सञ्चालन गर्ने निर्णय गर्ने तयारी गरेको छ ।
