दशैंका लागि भदौ २९ देखि सुकिला नोट सटही हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं पर्वलाई लक्षित गर्दै सुकिला नोट सटही (वितरण) गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकका अनुसार भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ।
यस अवधिमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, साथै प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट नोट सटही गर्न सकिनेछ।
राष्ट्र बैंकले इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत पनि सर्वसाधारण तथा संघ/संस्थाले सुकिला नोट सटही गर्न सक्ने व्यवस्था मिलाएको छ।
आम नागरिकले आफ्नो खाता रहेको बैंक, नजिकको कुनै पनि बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई सजिलै नोट सटही गर्न सक्ने व्यवस्था गरिएको छ।



