हरितालिका तीजमा पशुपतिनाथमा महिलाको भीड, चारै ढोका बिहान ३ बजेदेखि खुला

काठमाडौं । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका (तीज) आज देशभर धार्मिक श्रद्धा र उत्साहका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा महिलाहरूले निराहार व्रत बसेर भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा रहिआएको छ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पति स्वरूप प्राप्त गरेकी थिइन्। त्यही प्रसङ्गसँग जोडेर सुरु भएको यो पर्वमा विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामना गर्दै व्रत बस्ने गर्छन्। यद्यपि शास्त्रअनुसार पुरुषहरूले पनि यो व्रत लिनुपर्ने उल्लेख छ।
तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा श्रद्धालु महिलाहरूको ठूलो भीड लागेको छ। भक्तजनको सहजताका लागि मूल मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेशका लागि गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर हुँदै वासुकी र उत्तरढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट निस्किने गरी चार लाइनको व्यवस्था मिलाइएको छ।
पशुपति क्षेत्र मात्र नभई देशभरका शिवालयहरूमा आज बिहानैदेखि पूजाआजा, भजन, नाचगान र भक्तजनहरूको घुइँचो देखिएको छ। पशुपतिमा दर्शनमा आएका महिलाहरूले पूजाआजा गर्नुका साथै नाचगान, भजन तथा फोटो–भिडियो खिच्दै पर्वको उल्लास साझा गरिरहेका छन्।