नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित, टप एन्ड टी–२० यात्रा समाप्त

काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ ।
टस जितेर ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल बनायो । पाकिस्तानका इरफान खानले नटआउट ४२ रन जोडे भने नेपालका सोमपाल कामीले ३, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २/२ तथा कुशल भुर्तेलले १ विकेट लिए ।
जवाफमा १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ खेल्दै ५२ रन बनाए भने दीपेन्द्रसिंह ऐरी ४१ रनमा अविजित रहे । तर अन्तिम ओभरमा ८ रन आवश्यक रहेको अवस्थामा नेपालले ६ रन मात्र जोड्दै १ रनले हार बेहोर्नु पर्यो ।
यससँगै नेपालले टप एन्ड टी–२० सिरिजमा ६ खेल खेल्दा २ जित र ४ हारको नतिजा हात पार्यो । सिरिजको सुरुवाती तीन खेलमा लगातार पराजित भएको नेपालले चौथो खेलमा होबार्ट हरिकेन्स र पाँचौं खेलमा मेलबर्न रेनेगेड्सलाई हराएको थियो । अन्तिम खेलमा भने पाकिस्तान शाहीन्ससँग थोरै अन्तरले हार बेहोर्नुपर्यो ।
आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप अस्ट्रेलियामा खेलिएको यस शृङ्खला तथा अभ्यास खेलबाट नेपालले महत्त्वपूर्ण अनुभव संकलन गरेको छ ।