‘विसङ्गत वर्तमान’लाई नियाल्दा

मकवानपुरे साहित्येतिहासका पाइलाहरू क्रमशः अगाडि बढिरहेका छन् ऐतिहासिक मोडहरूका साथ । साहित्यका विविध विधामा मकवानपुरे साहित्य बढिरहेकै छ अगाडि, नेतृत्व गरेको काव्यविधाले । काव्यविधाका प्रतियोगिताहरू, पुस्तक प्रकाशन तथा पुरस्कार प्रदानादिले यसलाई पुष्टि गर्दछन् र प्रमाण दिन्छन् यहाँका पत्रपत्रिकामा छापिने रचनाहरूले । दैनिक अखबार, अनलाइन, टेलिभिजन तथा साहित्यिक पत्रपत्रिकाहरूमा सबैभन्दा बढी प्रकाशित–प्रसारित हुने काव्य बाह्या चर्चादिमा पनि कवि नै हुन्छन् अग्रणी । साहित्यको पर्याय बनिरहेको मकवानपुरमा सङ्ख्या र गुण दुवै दृष्टिकोणले ठुलो छ काव्यको महत्ता । जसका पारखीहरू देश–विदेशमा छन् त्यसको गर्भमा निरन्तर हुर्किरहेको हुन्छ एकपछि अर्को उत्कृष्ट कृति । यसै क्रममा जन्मिएको हुनुपर्छ – विसङ्गत वर्तमान ।
दीपक गौतम हुन् ‘विसङ्गत वर्तमान’का सर्जक । मकवानपुरको झरना साहित्यिक परिवार छतिवनबाट दीक्षित गौतम मकवानपुरे साहित्यिक क्षेत्रमा हुन् एक हस्तक्षेपकारी प्रतिभा । पृथक पहिचान र परिचयका लागि अनिवार्य हुन्छ हस्तक्षेप । मुक्तक र गजल बढी लेख्दै आएका साहित्यकार गौतमले नवसर्जकको साहित्योन्नयनका लागि अत्यन्त हस्तक्षेपकारी भूमिका निर्वाह गरेका छन् देशमा । नवसर्जकलाई लेख्न सिकाएर, सङ्गठन बनाएर तथा प्रतिभाको विस्तारको अवसर दिनुका साथै पुरस्कृत र सम्मानित गरेर पनि । एक सच्चा अभिभावकको हैसियत निर्वाह गरिरहेका गौतम आफ्नो सर्जन धर्मबाट छैनन् अलिकति पनि विचलित । यसैको परिणति हो – ‘विसङ्त वर्तमान’ । मुक्तक सङ्ग्रहको रूपमा आएको यो कृति लाग्दैन कि कुनै कृतिकारको हो प्रथमोपहार । निर्वाह गरेको छ यस कृतिले सम्पूर्णतः मुक्तकीय विधागत धर्मलाई र पहिचानका साथै सम्मान दिएको छ कृतिकारको कर्मलाई ।
खारिएको विचार तथा सुस्पष्ट चिन्तनयुक्त रचनाहरूले गर्दछन् रचनाकारको चाहनालाई प्रतिबिम्बित । मुक्तकार यसरी पोख्तछन् प्रथम रचनामा अभिलाषालाई सबैका सामु :
भोकाहरूका लागि म गाँस बनी बाँच्न सकूँ
नाङ्गाहरूका लागि म कपास बनी बाँच्न सकूँ
आफ्नै मात्र महल रच्ने चाह छैन जिन्दगीमा
बेघरबारका लागि म आवास बनी बाँच्न सकूँ ।
मानवतावादले ओतप्रोत मुक्तकहरू पनि जसले सोच्न बनाउँछन् बाध्य हुन मानवलाई मानव भएर सोच्न । कतै देश भएर पोखिन्छ माया माटोप्रति, कतै विकृति देखेर कुँडिन्छ मन । कहीँ उद्गारित हुन्छ कविको हृदयगाथा त कहीँ सार्वजनिक जीवनका विसङ्गतिले अमिलो बनाउँछ मन । आआफ्नै डम्फू हुँदा देखिन्छ कतै सुरताल बिग्रिने चिन्ता त नातावाद र कृपावादको उन्माद पोखिन्छ यसमा । यद्यपि मुक्तककार देखिन्छन् यसरी आफ्नो अडानमा कायम ः
एक युग बाँचू, सार्वकालिक बन्नु छैन
मजदुरलाई शोषण गरी मालिक बन्नु छैन
मान्छे बनी बाँच्न सकूँ केवल असल मान्छे
निर्जीव, निर्वाक सडकको सालिक बन्नु छैन ।
वर्तमान नै बोलेको प्रस्तुत मुक्तकमा खोतलिएका छन् वर्तमानका विकृतिहरू । प्रहार गरिएको छ विसङ्गतिमाथि । असन्तुष्टि पनि पोखिएको छ वर्तमानप्रति । निराशाले पनि मनमा देखाएको छ आशाको प्रकाश । समाजको बेथितिमा पनि खोजिएको छ परिवर्तनको आश । शिक्षामा देखिएको विकर्षणप्रति क्षोभ प्रकट गर्दै मदिरालयमा देखिएको भीडप्रति कस्सिएको छ व्यङ्ग्य । प्रकृतिको निर्मम दोहन र युवाको विदेश पलायनले रोएको छ हृदय । शासन, प्रशासन, न्यायादिमा पनि देखिएका असन्तोषका छिर्काहरू बनेको छ आक्रोश । जस्तोसुकै अवस्थामा पनि एक असल व्यक्तिले बिर्सन हुने कुरो भनी सम्झिएको छ चेतना फैलाउने कर्तव्य । पीडा, असन्तोष तथा आक्रोश र समस्याका बीचमा पनि सबैभन्दा ठुलो चाहिँ जीवन नै भएको देखिन्छ :
आँधी–हुरी झेल्नुपर्छ बाँचुन्जेल जिन्दगीमा
श्रमको रोटी बेल्नुपर्छ बाँचुन्जेल जिन्दगीमा
दुःख बिर्सी मुस्कुराउन सिक्नु रै’छ जीवन भन्नु
आँसु लुकाई खेल्नुपर्छ बाँचुन्जेल जिन्दगीमा ।
विषय वैविध्यको प्रस्तुत सङ्गालो आफैंमा देखिन्छ रचना संसारजस्तो । सूत्रमय तथा सूक्तमय किसिमले आएका अभिव्यक्तिहरूले उजागर गर्दछन् सर्जकको क्षमतालाई । मुक्तकहरू कुनै अभिधा, कुनै लक्षणा र छन् कुनै व्यञ्जना । व्यञ्जना मुक्तकहरू छन् बढी चोटिला । पहिला भनिन्थ्यो, हुन्न मुक्तक व्यङ्ग्यबिना र तेस्रो पङ्क्ति हुनुपर्छ पहिलेका दुई पङ्क्तिभन्दा मुक्त तर स्वीकार्नु पर्छ नवीनतालाई र बनाउनु पर्छ सर्जकले आफ्नै बाटो ।
प्रभावित छन् देशका साना तिना घटनाहरूबाट पनि मुक्तकहरू । आफ्नो वर्तमानलाई पूर्णतः समेट्न सफल छ कृति । यस अर्थमा कृतिको शीर्षकीय सार्थकता देखिन्छ छर्लङ्ग । ऐनाजस्तै समाजलाई छर्पस्ट देखाउने मुक्तकहरूमा भेटिन्छन् जीवन, व्यवहार, राजनीति, समाज, विपन्नका पीडा, निमुखाको आवाज तथा सर्वोपरि ठान्ने मानिसको संवेदना पनि ।
भोकमरीले सताउँदै छ, भय धेरै टाढा छैन
मान्छेमाथि सङ्कटको विजय धेरै टाढा छैन
मूर्ख मान्छे प्रकृतिको दोहन यति गर्दै छ कि
लाग्छ – अब संसारमा प्रलय धेरै टाढा छैन ।
चाहनाहरू उम्रिन्छन् मान्छे भएपछि । मुक्तकारका पनि चाहनाहरू छन्, व्यक्तिगत, सामाजिक जीवनका र अन्य क्षेत्रसित सम्बन्धित । साहित्यकारको चाहनाले मूर्त रूप लिने वा नलिने हुन्छ पृथक प्रश्न तर चाहनाको अभिव्यक्ति गर्दछन् साहित्यमा । चाहनाको मूर्त रूपले काव्यमा प्रस्तुत गर्दछ अमूर्त भाव पनि । मुक्तकारले देशको बारेमा देखेको सपनालाई नियाल्न सकिन्छ यसरी :
सदा हरित सदा पुष्पित यस्तो ठाउँ देख्न पाऊँ
रामका लागि अयोध्याझैँ आफ्नो गाउँ देख्न पाऊँ
आश्रित सोच हो मुख्य बाधक राष्ट्रिय स्वाधीनताको
स्वाभिमानले चम्किएको देशको नाउँ देख्न पाऊँ ।
कम शब्दमा खँदिलो विचार अभिव्यक्त गर्ने उपविधाको रुपमा परिचित मुक्तकीय संरचनाको परिधिमा आफ्नो भावनालाई पोख्नु र अभिव्यक्तीय शब्दसीमालाई वहन गरी आफूलाई समाहित गरी चानचुने कुरो अभिव्यक्ति दिन । अनि मुक्तक विधाका लागि यो कार्य हुन जान्छ दृष्टान्त । मूलतः काव्यविधाका उपविधाहरूमा रमाएका गौतमको मूल प्रवृत्ति यथार्थवाद र प्रगतिशीलता हो आरम्भदेखि नै ।
झरना साहित्यिक परिवार बकैया ४, मकवानपुरद्वारा २०७७ मा प्रकाशित पहिलो संस्करणको आवरण निर्माण गरेको हो शब्दघरले जुन आकर्षक मात्र होइन छ अर्थपूर्ण पनि । सूर्य सन्न्यासीको छविचित्रमा छैन खोट लगाउने ठाउँ रत्तिभर पनि । १५१ मुक्तकको यो सङ्ग्रह आफैँमा बन्न पुगेको छ सङ्ग्रहणीय । कृतिकार दीपक गौतमको सिर्जन कर्मको यस पाइलोले सङ्केत गरेको छ फराकिलो गोरेटोतर्फ यात्रालाई ।
शृङ्खला ३४, कृष्णाष्टमी, २०८२