चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस, बीडीएसलगायतका सिट संख्या वृद्धि

तु खबर संवाददाता
२०८२ श्रावण ३०, शुक्रबार ०९:०७

काठमाण्डौ – चिकित्सा शिक्षा आयोगले स्वदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित मेडिकल शिक्षामा सिट सङ्ख्या बढाउने निर्णय गरेको छ।

निर्णय अनुसार, एमबीबीएसतर्फ यसअघि १०० सिट भएका कलेजमा १३० र ५० सिट भएका कलेजमा ६० सिट पुर्याइनेछ। यसरी एमबीबीएसमा कुल ४९५ सिट र बीडीएसमा ४४० सिट थपिने भएको छ। तर, सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस सिट संख्या भने यथावत रहनेछ।

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको २१ औं बैठकले एमबीबीएस, बीडीएस, बीफार्मा, डीएम, एमसीएचलगायत विषयमा सिट वृद्धि गर्ने निर्णय गरेको हो।

यसअघि, वैशाख ३ गते बसेको बैठकले निजी मेडिकल कलेजका सिट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो, जसको प्रतिवेदनका आधारमा यो निर्णय गरीएको हो। आयोगका अनुसार मेडिकल कलेजहरूको पूर्वाधार, संकाय तथा अन्य मापदण्डको मूल्याङ्कन गरी मात्र सिट वृद्धि गरिएको हो।