प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमण सकाएर आज स्वदेश फर्किँदै

तु खबर संवाददाता
२०८२ श्रावण २३, शुक्रबार १०:३९

तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्।

प्रधानमन्त्री ओली आज बिहान तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन्। स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले विमानस्थलमा पुगेर उनलाई औपचारिक बिदाइ गरेका थिए।

दुबई हुँदै प्रधानमन्त्री ओली आज राति ११ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि, प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको तर्फबाट भूपरिवेष्ठित राष्ट्रहरूको आर्थिक विकास, पारवहन सुविधा र अन्तर्राष्ट्रिय सहयोगका विषयमा सम्बोधन गरेका थिए।