अभियान र एकीकृत समाजवादीबीच एकता

तु खबर संवाददाता
२०८२ श्रावण २, शुक्रबार १५:४१

नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता घोषणा गरिएको छ। शुक्रबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच दुई पार्टीबीच औपचारिक एकता घोषणा गरिएको हो।

यस एकतापछि बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान औपचारिक रूपमा एकीकृत समाजवादीमा विलय भएको छ। समारोहमा दुबै पक्षका नेताहरूको उपस्थिति रहेको थियो।

समारोहमा बोल्दै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले पार्टी एकताको महत्व औंल्याउँदै एक्लै सफलता सम्भव नहुने धारणा व्यक्त गरे। उनले भने, “म एक्लै आएको छैन आज। एक्लै आउँदा कहिल्यै पनि सफल भइन्न। चार वर्ष लाग्यो। त्यसैले म आज नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु।”

गत साता दुवै पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र बामदेव गौतमले पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सोही सहमतिको आधारमा गौतमलाई एकीकृत समाजवादीमा वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरिएको हो।

यो एकता वामपन्थी राजनीतिक समन्वयको दिशामा गरिएको प्रयासको रूपमा हेरिएको छ।