सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो १६ वर्षमुनिको इस्ट जोन कप उपाधि

तु खबर संवाददाता
२०८२ असार २१, शनिबार १५:१७

मलेशियामा सम्पन्न एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले अपराजित यात्रासहित उपाधि जितेको छ। फाइनलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि रक्षा गर्न सफल भएको हो।

सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। संकटपूर्ण अवस्थामा नेपालका जोए थापा २४ रनमा अविजित रहँदै जितको नायक बने। उनले शुभम् खनालसँग छैटौं विकेटका लागि ३३ रन र अन्त्यमा अभय यादवसँग नवौं विकेटका लागि नटआउट २५ रनको महत्त्वपूर्ण साझेदारी गरे।

यसअघि टस जितेर ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर ५ बलमा ११३ रनमै समेटिएको थियो। सिङ्गापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। नेपालका बलरमध्ये सुशीलबहादुर रावल र अभय यादवले समान ३/३ विकेट लिए भने शुभम् खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए।

सेमिफाइनलमा नेपालले मलेशियालाई र सिङ्गापुरले हङकङलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए। प्रतियोगिताको तेस्रो स्थानको लागि भएको खेलमा आयोजक मलेशियाले हङकङलाई ५ विकेटले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो।

नेपालले यस प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहँदै साविक विजेताको हैसियत जोगाएको छ।