पानी सुकाएर खोज्दा पनि भेटिएन सडकमा भासिएको गाडी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका गौरीगाउँमा सडक भासिएको सोही आल्डोमा डुबेको गाडी हालसम्म फेला परेको छैन । गाडी खोज्न दिनभर प्रयास गर्दा पनि गाडी फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, गाडी भासिएको खाल्डोको पानी सुकाएर गाडी खोजी गरिएको भएपनि फेला पार्न सकिएको छैन । बाँस डुबाएर प्रयास गरिएकोमा सो प्रयास पनि सफल भएन । गाडी डुबेको खाल्टोबाट जति पानी बाहिर फाल्यो उति वरपरको माटो खाल्डोमा खसेर पुरिँदै जान थालेपछि खाल्डोमा डुबेको गाडी फेला पार्न समस्या भएको हो ।
गैरीगाउँको सो सडकमा शुक्रबार हरिराम राईको ना.४ च ४८३३ नम्बरको माछा ढुवानी गर्ने गाडी सडक भासिएको सोही खाल्डोमा परेको हो । सडक भासिएको पानीको दहमा डुबेको सो गाडी हालसम्म फेला पार्न सकिएको छैन ।
गाडीका चालक र सहचालकले भने गाडी भासिनु अघि नै हामफालेर ज्यान जोगाएका थिए ।