बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिबारे संसदमा प्रश्न, छानविन माग
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिको विषयमा संसदमा प्रश्न उठेको छ । ओझालाई नियुक्ति गर्दा पेश भएका कागजपत्र फर्जी रहेको र उनको योग्यता अपुगेको भन्दै संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग उठेको हो ।
हुम्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद छिरिङ डम्दुल लामाले बीमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई नियुक्ती गर्ने सम्बन्धी मिति २०८१ फागुन १२ गतेको मन्त्रिपरिषदको निर्णय र छनौट समितिले पुरा गरेको प्रक्रियाहरुमा गम्भिर त्रुटी र सेटिङ रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल, मुख्य सचिव एक नारायण अर्याल, अर्थसचिव घनश्याम शर्मा उपाध्यायको संलग्नता रहेको भन्दै संसदीय समिति बनाएर छानविन गर्नुपर्ने माग अघि सारेका हुन् ।
सांसद लामाले नियम अनुसार ३५ बर्ष उमेर पुग्नुपर्नेमा उमेर नपुगेको, बीमा ऐन २०७९ बमोजिमको योग्यता समेत नपुगेको व्यक्तिलाई फर्जी कागजातका भरमा तलदेखि मन्त्रिपरिषदसम्म सेटिङमा नियुक्त गरिएकोमा सरकारको जवाफ समेत माग गरेका छन् ।
ओझाको नियुक्ति बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट समेत दर्ता भएको छ ।
