टिप्पणी- आज १९ औँ लोकतान्त्रिक दिवश, किन कमजोर बन्दैछ लोकतन्त्र ?

काठमाडौँ । आज १९ औँ लोकतन्त्र दिवश । देशभरि लोकतन्त्रको स्थापनाका लागि विविध कार्यक्रम गरेर यो दिवश मनाइँदैछ । वि.स २०६३ साल वैशाख ११ गते लोकतन्त्रको स्थापना भएको थियो ।
त्यतिबेलाका राजा ज्ञानेन्द्र शाहले विघठन गरेको संसद पुर्नस्थापना गरी कार्यकारी प्रमुखको रुपमा राजगद्दी त्यागेको र लोकतन्त्रको स्थापना भएको दिन भएकाले यसलाई लोकतन्त्र दिवशको स्मरणमा मनाइँदै आइएको छ । तत्कालिन राजा ज्ञानेन्द्रले जनआन्दोलनमार्फत् अभिव्यक्त भएको जनभावना अनुरुप प्रतिनिधिसभालाई पुनस्थापित गरिएको अभिव्यक्ति दिएका थिए ।
तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादी सम्मिलित भई सुरु गरिएको जनआन्दोलनले नेपालमा राजसंस्थाको अन्त्य गरेको थियो । २०६५ साल वैशाख ११ गतेबाट लोकतन्त्र दिवश मनाउन थालिएको हो ।
माओवादी जनयुद्ध र जनआन्दोलनका समयमा बोकिएका राजनीतिक एजेण्डाहरु क्रमशः पूरा हुँदा पनि जनताले वास्तविक लोकतन्त्रको अनुभूति गर्न पाएका छैनन् । वयश्क लोकतन्त्र झन कमजोर बन्दै जाँदा राजनीतिक दलका नेताहरुले यसलाई बलियो बनाउन जनमतको सम्मान गर्ने गरी काम गर्न सकिरहेका छैनन् । बारम्बार परिवर्तन हुने राजनीतिक व्यवस्थाले जनताको अवस्थालाई बदल्न नसक्दा त्यसले जनमानसमा अहिले पनि खुसी दिन सकेको छैन ।
उही सत्ता लिप्सा, चरम भ्रष्टाचार, राजनीतिक दलहरुप्रति जनताको विस्तृष्णा सबै कुराले गर्दा लोकतन्त्रको मियो दिनहुँजसो कमजोर बन्दै गइरहेको छ । यति हुँदा पनि दलहरुमा चेतनाशुन्य छ, र आफ्ना कमीकमजोरी सुधार गरेर अघि बढ्ने इमान्दारिता देखिन सकेको छैन । १९ दिने जनआन्दोलनभन्दा अघि यी राजनीतिक दलहरुले निकालेका जुलुसमा सहभागिता न्यून हुँदै जाँदा नेपालका बौद्धिक जगतले लोकतन्त्रको आन्दोलनलाई उठाएको थियो ।
दलका नेताहरुले भूल भयो माफ पाउँ, हामी सच्चिएर अघि बढ्छौँ भनेर प्रतिवद्धता जनाएपछि बल्ल जनता सडकमा आएका थिए र संभव भएको थियो लोकतान्त्रिक गणतन्त्र स्थापना ।
आज यतिका वर्ष वित्दा समेत दलहरुको हविगत उही स्थितिमा छ । विलासी जीवनशैली, चरम भ्रष्टाचार, आर्थिक अराजकता र राजनीतिक खिचातानीले लोकतन्त्रप्रति नै जनमानसमा घृणा उत्पन्न हुँदै गएको छ ।
अब यी सरकार चलाउने दलहरुले सच्चिएर अघि बढ्न आवश्यक छ । दुइचार थान शुभकामना सन्देश प्रकासन गरेर लोकतन्त्रको जग बलियो बन्दैन, बरु मक्किँदै जान्छ । लोकतन्त्र बलियो बनाउने हो भने जनताको वास्ताविक समस्यालाई समाधान गर्ने इच्छाशक्ति सरकार चलाउने र जनताका लागि गर्छु भन्ने राजनीतिक दलहरुमा हुनुपर्छ ।
अहिले नेपाली समाज जताततै अन्यौल अवस्थामा छ । सबैतिर आन्दोलन छ । व्यापार व्यवसायहरु चौपट भएका छन्, यस्तो बेला सरकार चलाउनेहरु विभिन्न नामका संयन्त्रहरु बनाएर करोडौँ रुपैयाँ दोहन गरिरहेका छन् ।
लोकतन्त्रका आधार स्तम्भहरुमाथि चौतर्फी आक्रमण भइरहेको छ । स्वतन्त्र प्रेसको घाँटी निमोठ्न सरकार संचालकहरु तथा राज्यका अन्य संयन्त्रहरु क्रियाशील छन् । नागरिक आवाज दमन गर्न कुनै कसर बाँकी राखिएको छैन । सरकारले जे भन्छ, नागरिक समाज र बुद्धिजीवीहरुले होमा हो मिलाउनु पर्ने अवस्था छ । यसले लोकतन्त्रलाई कमजोर पार्ने बाहेक अरु के उपलब्धी हाँसिल हुन सक्छ र ?
स्वच्छ न्याय प्रणालीमाथि पनि सरकारको गिद्धेृ नजर छ । राजनीतिक भर्ती केन्द्रको रुपमा न्यायालयमाथि चरम हस्तक्षप छ । यो लोकतन्त्र कमजोर बनाउने अर्को अवस्था हो । जहाँ स्वतन्त्र र सबल न्यायप्रणाली हुँदैन त्यहाँ लोकतन्त्र कमजोर हुन्छ ।
यी तमाम वेथितीको अन्त्य र सरकार सत्ता चलाउनेहरुमा इमान्दारिताको देखिने हो भने बल्ल लोकतन्त्रले फुल्न फक्रन पाउने थियो कि ?