बीमा प्राधिकरणका अध्यक्ष नियुक्ति सम्बन्धी मुद्धा हेर्न नमिल्नेमा

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्षको योग्यता सम्बन्धमा सर्वोच्च अदालतमा दर्ता भएको रिट आज पनि पेशीमा चढेर सुनुवाइ हुन सकेन ।
सरकारले बीमा प्राधिरकणको अध्यक्ष शरद ओझाको नियुक्ति गरेपछि अनुभव सम्बन्धी योग्यता नमिल्ने भन्दै सर्वोच्च अदालतमा परमादेश समेतको माग गर्दै अधिवक्ता इन्दिरा धमलाले रिट निवेदन दर्ता गराएकी थिइन् ।
आज सर्वोच्चमा ८ नम्बर इजलासमा पेशी चढेको थियो । न्यायाधीशहरु विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको सो रिट हेर्न नमिल्नेमा परेको हो । यसअघि ८ गतेको पेशीमा पालो नआएपछि सुनुवाइ हुन सकेको थिएन ।
बीमा ऐन २०७९ को दफा ८ को (१) क अनुसार बीमा, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र, वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधी हासिल गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हाँसिल गरेको हुनुपर्ने व्यवस्था छ । तर, ओझाको यस सम्बन्धी अनुभवको अभाव हुँदाहुँदै सरकारले प्राधिकरणको अध्यक्ष नियुक्त गरेकोले सो नियुक्ति वदर गर्न माग गर्दै अधिवक्ता धमलाको निवेदन दर्ता भएको थियो ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा छलफलको लागि उपस्थित हुन भनेको थियो । न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।
त्यस यता पटकपटक पेशी सूचीमा चढेपनि सुनुवाइ हुन सकेको छैन ।