मानिसले गाँस, बास र कपासपछि बीमामा लगानी गर्नुपर्छः मदन भट्ट
धनगढीका मदन भट्ट बीमा क्षेत्रको परिचित नाम हो । सुदूरपश्चिममा रहेर नेपाली जनतामाँझ बीमाको पहुँच बिस्तारमा सक्रिय भट्ट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भएर काम गरिरहेका छन् । दुई दशकभन्दा बढि समय बीमा क्षेत्रमा बिताएका उनै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर भट्टसँग गरेको कुराकानीको सारसंक्षेपः
० नेपालको जीवन बीमा क्षेत्रमा मदन भट्ट आफैमा परिचित नाम बन्न पुगेको छ । यति ठूलो सफलता कसरी सम्भव भयो ?
– कुनै पनि व्यवसायमा सफल हुन तथा अगाडि बढ्न कुनै एउटा निश्चित सिद्धान्त, तरीका वा यो पछि त्यो भन्ने केही पनि हुदैन । काम गर्दै जादा मान्छेहरूसँग परिचय बढ्दै जान्छ र त्यसैको आधारमा बीमा गराउदै गइन्छ । सबैभन्दा ठूलो कुरा विश्वास र इमान्दारिता रहेछ । बीमा क्षेत्रमा मैले २३ वर्ष बिताएँ र यस अवधिसम्म म ४ पटक लगातार नपाल टप भएँ ।
एलआइसीमा एक पटक र नेपाल लाइफ कम्पनीमा ७ चोटी नेपाल टप भइसकेको छु । एमडीआरटी, सीओटी, टीओटी सबै उपाधि पाइसकेको छु । नागरिक र पेशाप्रतिको इमान्दारिता र विश्वासले नै हर कोही सफल हुने हो । बाहिरबाट देख्दा त मैले बीमितसँग लाखौं रुपैयाँ लिएर एउटा जाबो कागजको खोस्टो दिने न हो । तर भित्री रूपमा हेर्दा त्यो कागजको खोस्टो फगत एक कागज मात्र नभएर बीमितले मलाई गरेको विश्वासको प्रमाणपत्र हो। कसैलाई विश्वास गरेरै न आफूले कमाएको रकमको अंश त्यसरी दिन सकिन्छ। यसबाट के बुझिन्छ भने मार्केटमा विश्वास दिलाउन सक्नु नै सफलताको मुख्य सूत्र हो।
० बीमा अभिकर्ता वा बीमाको एजेन्सी म्यानेजर हुँदैमा यति धेरै सफल र राष्ट्रिय परिचय बनाउन सम्भव छ ?
–सम्भव भयो, हुँदो रहेछ । म आफैंले पनि सोेचेकै थिइनँ कि म एउटा सामान्य व्यापार गरेर बसिरहेको मान्छे एकदिन यहाँसम्म पुग्छु भनेर। मेरो एउटा सामान्य किराना पसल थियो । भन्न त मलाई अरुले बीमा बेक्कार हो नै त्यसैले यसमा अभिकर्ता नबन बरु त्यही पसललाई राम्ररी चलाऊ भन्थे। तर मभित्र बीमा अभिकर्ता बन्ने एक खालको भूत नै चढिसकेको थियो। यता मेरो किराना पसल त छँदैछ उता खाली समयमा अभिकर्ता बनेर काम गर्न पाएँ भने अलिअलि भए पनि कमाई भइहाल्छ कि भनेर अभिकर्ता पेशामा होमिएको हुँ।
हुन त मैले एक समय सरकारी जागीर खान्छु भनेर नेपाल प्रहरीमा फारम समेत भरेको थिएँ। मान्छेले चाह्यो र गर्यो भने के चाँहि नहुँदो रहेछ र? मैले पनि शुरुशुरुमा अभिकर्ता पेशामा लाग्दा ठूलै सफलता प्राप्त होला भन्ने सोचेकै पनि थिइनँ तर गर्दै जाँदाखेरी सम्भव हुने रहेछ। मैले धनगढीमा चिकेन स्टेशनको फ्रेन्चायज पनि खोलेँ । अहिले धनगढीमै एउटा रिसोर्ट बनाउँदैछु । अहिले मैले बीमा अभिकर्ता बाहेक यो रिसोर्ट पनि चलाउँछु। शेयर मार्केटमा लगानी गरेको तर राम्रो प्रतिफल पाउन सकिनँ अहिले बीमा अभिकर्ताको अतिरिक्त यही होटल व्यवसायमै मेरो समय बित्छ।
० तपाईले बीमा अभिकर्ता पेशालाई मात्र व्यवसायिक बनाउनु भएको छ कि यो बाहेक अन्य कुनै पेशा/व्यवसाय पनि गर्दै हुनुहुन्छ ?
– हेर्नुस् पैसाले मानिस मात्तिने रहेछ । सन् २०१७–१८ साल तिर अलि पैसा कमाएँ त्यो बेला मेरो चिकेन स्टेशन पनि थिएन रिसोर्ट पनि थिएन । कमाएको पैसा बैंक खातामै बचत गरेर राख्थेँ। त्यसबेला मभित्र शेयरको भूत चढ्यो। अब शेयरमै लगानी गरेर पैसा कमाउछु भन्ने जोश त थियो तर शेयर मार्केट सम्बन्धी अध्ययन, अनुसन्धान त परकै कुरा पर्याप्त ज्ञान समेत थिएन।
० तपाईं एक सफल व्यवसायी हुँदाहुँदै पनि बीमा क्षेत्र पनि छाड्नु भएन बीमा क्षेत्रमा आकर्षण छ र?
– मैले कति बीमा मात्रै गर्नु यसो नयाँ क्षेत्रमा पनि हात हाल्नुपर्यो भनेर सन् २०२० सालतिर चिकेन स्टेशन खोलेँ र त्यसमा एमडी सर भएर बसेँ । बीमा सम्बन्धी पनि राम्रैसँग जानि हालियो अब कति बीमा मात्रै गरेर बस्नु भनेर २ वर्षजति बीमा अभिकर्ताको पेशा चटक्कै छाडिदिएँ यता चिकेन स्टेशनबाट पनि राम्रै कमाई भैराखेकै थियो।
चिकेन स्टेशन चलाएर एक वर्षमै १८–२० लाख जति कमाएँ पनि तर एक मनले मानेन । आखिर बीमा भनेको त बीमा नै हो, जे जस्तो भए पनि बीमाप्रति नै मन गइरहने यता चिकेन स्टेशनको कमाई त कमाई नै नलाग्ने क्या ! यसरी चित्तै नबुझेपछि म फेरि नेपाल लाइफमा नै फर्किएँ । नेपाल लाइफमै आफ्नो एउटा पहिचान, चिनजान र सम्बन्ध भएकाले पनि यसैमा फर्किएको थिएँ।
० तपाईंको दुई दशक बढीको अनुभव अनुसार एउटा सामान्य मान्छेले किन बीमा गर्नुपर्छ?
– हामीले गाउँघर तिर बीमा गराउन जाँदा के सुन्छौं भने ‘बीमा गरेर कामै छैन बरु सयगोटा रुपैयाँमा ४–५ रुपैयाँका दरले ब्याजमा लगाइयो भने त्यसैबाट टन्नै नाफा हुन्छ। यसरी ब्याजमा लगाएको पैसा जम्मा गरेर घरजग्गा किनियो भनै थुप्रै फाइदा हुन्छ ।’ यसरी पैसा जम्मा गरेर घरजग्गा किन्दा फाइदा हुन्छ भन्ने कुरा एकहिसाबले गलत हो। किनभे बीमा गर्नुको उद्देश्य केवल नाफा कमाउनु हो भन्ने सोचाई नै गलत छ। यदि कोही नाफा नै कमाउने उद्देश्यले बीमा गर्न खोज्नुहुन्छ भने म सीधैं भन्छु तपाईं बीमा नरोज्नुहोस् जग्गा नै किन्नुस् या शेयर मार्केटमा लगानी गर्नुस् वा अन्य क्षेत्रमा किनभेन व्यापार र बीमा अलग क्षेत्र हुन्।
बीमा भनेको भोलिको लागि बचत हो । यदि तपाईंले बैंकमा लगेर २० लाख रुपैयाँ जम्मा गर्नुहुन्छ भने बैंकमा त्यो रकम रहुन्जेल ब्याज खानुहुन्छ तर बीमामा त्यही २० लाखको लगानी खान तपाईंले २० लाख जम्मा गरेर राख्नै पर्दैन । वर्षको १ लाख मात्रै राख्नुस् न बाँकी रकम त आफ्नो इच्छानुसार जता लगानी गर्दा पनि भयो ।
आफूले कमाएको रकम सबै लगानी गरिन्छ भने भोलि आफूलाई केही भइहालेमा लगानी पनि डुब्न सक्छ नत्र जति लगानी गरियो त्यति मात्रै प्रतिफल पाइन्छ तर बीमाले त यो रिस्कलाई पूर्ण रूपले कभर गरिदिन्छ । अझ के पनि भने बीमाले त मान्छेलाई रातमा शान्ति र राम्रो निद्रा पनि दिने रहेछ।
० कति आम्दानी हुनेले कति लाखको बीमा गर्दा ठीक हुन्छ ?
– अति नै राम्रो प्रश्न सोध्नुभयो । अहिले जो सरेण्डरको दर देख्नुभएको छ निकै कहाली लाग्दो अवस्थामा छ । यदि कुनै बीमा कम्पनीले एक वर्षमा १० अर्ब कमाइरहेको छ तर त्यसमा ७–८ अर्बको सरेण्डर आएको छ भने त्यस्तो बीमा कम्पनीको औचित्य नै के रह्यो र?
० मानिसको जीवनमा बीमा कति प्राथमिकता दिने बिषय हो ?
– बीमा गर्दा आफ्नो रेगुलर इन्कमलाई एकदमै ध्यान दिन जरुरी छ । बीमा पहिलो नम्बरको अपरिहार्यतामा पर्दैन शुरुमा गाँस, बास, कपास पछि जीवन बीमामा लगानी गर्नुपर्दछ । आफ्नो कमाईको सम्पूर्ण अंश बीमामै लगाउछु भनेर पनि हुँदैन । कमाईको सीमित अंशले बीमा गर्ने हो।
अभिकर्ताले पनि ठूलो रकमको पोलिसी बिक्री हुन्छ भनेर लोभमा बीमितको आय आम्दानी नहेरी बीमा गर्न सुझाव दिनु हुँदैन र बीमितले पनि आफ्नो आयको लेखाजोखा गरेर मात्रै बीमा गर्दा सरेण्डर रेट सजिलै घट्न सक्छ ।
मान्छेले बीमा सरेण्डर किन गर्छ? प्रिमियम तिर्ने क्षमता नभएर वा आफूलाई अत्यावश्यक परेको ठाउँमा चाहिने रकम पनि बीमामै लगानुपर्ने भयो भने बीमितले हार खाएर बीमा सरेण्डर गर्छ । यो अवस्था आउन नदिन आफ्नो आयको सीमित अंशले धान्ने बीमा गर्नुपर्छ।
० सफल अभिकर्ता बन्न कम्पनी वा बीमितमध्ये को प्रति बढी बफादार हुनुपर्छ?
– बीमितप्रति सधैं बफादार हुनुपर्छ । कम्पनीले प्रोडक्ट बनाउने हो र हामीले त्यही प्रोडक्ट बीमितलाई बेच्ने हो । बीमितले त कम्पनी देखेको पनि हुदैनन् त्यसैले हाम्रो नैतिक जिम्मेवारी बीमितप्रति हुनुपर्छ । बीमितले मसँग करोडौं रुपैयाँको बीमा गर्नुभएको छ र वार्षिक रूपमा लाखौं रकम तिरिरहनु हुन्छ। तर त्यस्ता कतिपय बीमितले न त नेपाल लाइफको बिल्डिंग देख्नुभएको छ न नेपाल लाइफको सीईओलाई नै चिन्नुहुन्छ त्यही पनि लाखौं करोडौं रुपैयाँको बीमा गर्नुहुन्छ किन? किन कि उहाँले नेपाल लाइफ कम्पनीको मदन भट्टलाई चिन्नुहुन्छ।
म प्रतिको विश्वासले नै त्यसरी कम्पनी, कम्पनीको बारेमा वा कम्पनीको सीईओ कसैलाई नचिने पनि बीमा गर्नु भएको छ। भनेपछि त मेरो जिम्मेवारी कम्पनीभन्दा पहिले बीमितप्रति नै हुनुपर्छ नि !
