गाँजासहित समातिए दुई भारतीय, कलंकीबाट खैरो हिरोइनसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८१ फाल्गुन २०,मंगलवार १८:३१

काठमाडौं। थाइल्याण्डबाट आएका दुई जना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ परेका दुई जना भारतीय नागरिक रहेको विमानस्थलले जनाएको छ ।

थाइल्याण्डबाट गाँजा बोकेर आएका उनीहरुलाई विमानस्थलमा रहेको सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । उनीहरुमाथि थप अनुसन्धान गर्न आवश्यक देखिएपछि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।

त्यसैगरी, राजधानी काठमाडौंबाट खैरो हिरोइनसहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कलंकीबाट उनीहरुलाई क्रेटा गाडीमा खैरो हिरोइन बोकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले ती युवाहरुलाई पक्राउ गरेको र पक्राउ पर्नेहरुमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका र सोही ठाउँ बस्ने २७ वर्षीय अनुप घिमिरे, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय विक्रम तामाङ र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय रोमश्वर अधिकारी छन् ।