१ हजार ७४ किलोग्राम गाँजासहित मकवानपुरमा चार जना पक्राउ

तु खबर संवाददाता
२०८२ असार १७, मंगलवार १९:२१
तस्बिर : इप्रका पालुङको फेसबुक पेज ।

हेटौंडा । मकवानपुर प्रहरीले १ हजार ७४ किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोली मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–५, कटहरे पोखरीस्थित एक निजी घरमा छापा मारेर गाँजा बरामद गरेको हो ।

भण्डार गरी राखिएको अवस्थामा गाँजा बरामद गरिएको र सो प्रकरणमा संलग्न रहेको आरोपमा कैलाश गाउँपालिका वडा नं. ५ का हरि बहादुर वाइवा, बुद्धि बहादुर पाख्रिन, राजेन्द्र लामा र अरुण गोलेलाई पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान हुने र अभियुक्तहरुलाई व्यूरोको टोलीले इलाका प्रहरी कार्यालय पालुङमा बुझाएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो घटनामा पक्राउ गरिएका चार जनालाई पालुङमा बुझाइएको र अनुसन्धान एवम् अभियोजन कार्य इप्रका पालुङबाट हुने बताए ।