त्रिवि शिक्षण अस्पतालमा भाटभटेनीको ९ करोडको नयाँ भवन हस्तान्तरण
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भाटभटेनी सुपरमार्केट्सको सहयोगमा निर्माण गरिएको ९ करोड रुपैयाँ बराबरको नयाँ भवन सोमबार औपचारिक रूपमा अस्पताललाई हस्तान्तरण गरिएको छ।
स्वर्गीय वृषबहादुर गुरुङ र स्वर्गीय धनमाया गुरुङको सम्झनामा निर्माण गरिएको उक्त भवनको उद्घाटन तथा हस्तान्तरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेका थिए। समारोहमा प्रधानमन्त्री ओलीले ‘ईएचएस’ नाम दिइएको भवनको उद्घाटन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न सफल भएको भन्दै भाटभटेनी सुपरमार्केट्स र गुरुङ परिवारको प्रशंसा गरे।
प्रधानमन्त्री ओलीले भने, “सामाजिक उत्तरदायित्वको उदाहरणीय कार्य गर्दै भाटभटेनीले राष्ट्र र जनताको सेवामा उल्लेखनीय योगदान गरेको छ।”
भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले कुनै पनि स्वार्थ नराखी राष्ट्र, जनता र समाजप्रतिको दायित्वबोधका साथ यो भवन निर्माण गरिएको जानकारी दिए। “यो भवन पूर्ण रूपमा राष्ट्रको सेवामा समर्पण गरेका हौं,” गुरुङले उद्घोष गरे।
शिक्षण अस्पतालका पदाधिकारीहरूले भाटभटेनी सुपरमार्केट्सप्रति आभार प्रकट गर्दै उक्त भवन अस्पतालको सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
यस नयाँ भवनबाट बिरामीलाई अझ सहज, गुणस्तरीय र व्यापक सेवा दिन सकिने अस्पताल प्रशासनको भनाइ छ।
