‘सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दैछ’
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् ।
मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको शनिबार उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताए । भ्रष्टाचारको अन्त्य नगरेसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने उनले दाबी गरे ।
भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशभरि देखिएको चेतनाको लहर आएको उनको भनाई छ । अध्यक्ष दाहालले स्थानीय सरकारले यसतर्फ ध्यान दिनु अत्यावश्यक रहेको औंल्याए ।
अध्यक्ष दाहालले आफ्नो पार्टीबाट जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंह, बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, प्रदेशको पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानलगायत विभिन्न राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।
बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आजबाट सुरु भएको गोल्डकप प्रतियोगिता फागुन १२ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा थ्रि स्टार, त्रिभुवन आर्मी, चर्च ब्वाइज, सङ्कटा, एपिएफ, हिमालयन शेर्पा, मच्छिन्द्र क्लबलगायतका गरी १० वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० र पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ, प्रत्येक खेलका म्यान अफ दिन म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
